फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा फाल्गुनन्द खेलकुद विकास समिति फाकफोकथुम ७ र फाइभस्टार क्लब आङसराङ सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो खेलमा पहिलो खेलमा फुङ्वा युवा क्लब फुएतप्पालाई ३-१ गोलअन्तरले पराजित गर्दै फाल्गुनन्दले सेमीफाइनलको यात्रा तय गरेको हो ।फाल्गुनन्दका लागि कप्तान तारा फागो, सुबास तामाङ र म्याग्नेट लिम्बूले गोल गरे ।
फुङ्वाका लागि आइकल लिम्बूले मात्र एक गोल फर्काए ।
त्यस्तै दोस्रो खेलमा देउराली युनाइटेड मेतालुङलाई २-१ गोलअन्तरले पराजित गर्दै आङसराङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आङसराङका लागि दुवै गोल लोकेन्द्र थापाले गरे । देउरालीका लागि भने विवेक सुनामले सान्तावना गोल फर्काए ।
फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा जारी प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।
स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।