इलाम : जिल्ला प्रहरी कार्यालय इलामले दुई महिनामा २३ जना फरार अभियुक्ता पक्राउ गरेको छ ।
विभिन्न मितिमा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका २३ जना फरार प्रतिवादीहरुलाई भदौ र असोजमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका फरार प्रतिवदीहरुलाई अदालत समक्ष पेश गरी थुनाको लागि इलाम कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पक्राउ पर्नेमा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, बिष्फोटक पदार्थ, चोरी, सवारी ज्यान, वन, बहुविवाह, कुटपिट, घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेको प्रहरीले जनाएको छ ।
इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकीछिपि बसेका फरार प्रतिवादीहरुलाई सादा पोसाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिवादीहरु समेतलाई पक्राउ गर्न थप तीब्रता दिईरहेको जनाएको छ ।