बुटवलः लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्न थालेपछि स्थानीय तहहरूमा पनि बचतकर्ताहरूले उजुरी दिन थालेका छन् । लुम्बिनी प्रदेशमा रहेका बुटवल, नेपालगन्ज, तुलसीपुर, घोराही उपमहानगरपालिका बचतकर्ताहरूले सहकारी सञ्चालक समितिले बदमासी गरेको आरोप लगाउँदै आफ्नो बचत र सेयर रकम फिर्ता ल्याइदिन मागसहित उजुरी दिएका छन् । स्थानीय तहले केही उजुरीका आधारमा सञ्चालक समितिबाट रकम उपलब्ध गराएका छन् भने केही उजुरी छानबिनकै प्रक्रियामा छन् । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति पशुपन्छी कृषि सहकारी संस्थाको सञ्चालक समितिले बचत तथा सेयर गरी २५ लाखभन्दा धेरै हिनामिना गरेको भन्दै बचतकर्ताहरूले हालै पालिकामा उजुरी दिएका छन् । यहाँ यसअघि पनि सोही वडामा रहेको सूर्य बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिले रकम हिनामिना गरेको उजुरी परेको थियो । नेपालगन्ज उपमहानगरपालिकामा सहकारी सञ्चालक समितिले बदमासी गरेको भन्दै ३ वटा उजुरी परेका छन् । ती उजुरीमाथि छानबिन चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रवीण रानाले हाल सहकारी बचतकर्ताहरूले दिएको उजुरीमाथि छानबिन भइरहेको बताए । नेपालगन्जमा ११२ वटा सहकारी दर्ता भएका छन् । बुटवलमा कार्यक्षेत्र भएका तर संघ र प्रदेशमा दर्ता भएका सहकारीहरूको सबैभन्दा धेरै बदमासी गरेको उजुरी आएका छन् । बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणकर खनालका अनुसार बुटवलमा दर्ता नभएका तर यहाँका बचतकर्ताको रकम हिनामिना गरेको झन्डै १० वटा सहकारी छन् । ती सहकारीहरूले बुटवलवासीको बचत र सेयर हिनामिना गरेको उजुरी परेपछि प्रदेश, संघमा आफूहरूले पठाएको बताए । बुटवल उपमहानगरपालिकाभित्र १३५ सहकारी छन् । बुटवलमा यसरी बचतकर्ताहरूको रकम हिनामिना गरेपछि अहिलेसम्म ६ वटा सहकारी पूर्ण रूपमा बन्द भएका छन् । बचतकर्ताको रकम हिनामिना भएको भन्दै सुप्रिम सहकारी साइन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्री आदिका विरुद्ध निवेदन आएको खनालले बताए । ती सहकारी संघ र प्रदेशमा दर्ता रहेकाले उजुरीहरू सम्बन्धित निकायमा पठाएको उनको भनाइ छ । सुप्रिम सहकारीका सञ्चालकमाथि २ सय भन्दा धेरै बचतकर्ताले उजुरी दिएका थिए । उक्त सहकारीको उजुरी अहिले प्रदेशको गृह मन्त्रालयमा पुगेको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार यम बहादुर कुँवरले बताए । लुम्बिनी प्रदेशमा ४ हजार ६ सय सहकारी छन् । तीमध्ये सात सय ८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्रभित्र छन् । प्रदेश सरकारस्तरका सहकारीमध्ये अहिले एक दर्जन सहकारीमा बेथिति देखिएको छ । रजिस्ट्रार कुँवरले सहकारीमा ठगी सम्बन्धमा आएका उजुरी सल्टाउने काम भइरहेको बताए । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रवक्ता एसएसपी कृष्ण बहादुर पल्ली मगरले सहकारी बचतकर्ताहरुले आफ्नो रकम नपाएको उजुरी जिल्ला जिल्ला प्रहरी कार्यालयमा पनि दिइरहेको बताए ।-रातोपाटी
सहकारी संचालक समितिबाटै रकम हिनामिना, बचतकर्ताले दिए उजुरी
घोराही नगरपालिका सहकारी शाखा प्रमुख प्रेम बहादुर केसीका अनुसार यो पालिकाभित्र दर्ता भएका सहकारीहरूको बेथितिलाई नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरेर नियन्त्रण गर्ने र प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघ सरकारको कार्यक्षेत्र भएमा उतै पठाउने गरेको बताए । यहाँ २०३ वटा सहकारी दर्ता भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा हालै एउटा सहकारी सञ्चालक समितिले बदमासी गरेको उजुरी परेको छ । सहकारी शाखा प्रमुख सुनिता शर्माले उक्त उजुरी कानुनी प्रक्रियामा रहेको बताइन् । यहाँ १६७ वटा सहकारी दर्ता भएका छन् । उनले भनिन्, ‘आएका उजुरीहरू बचतकर्ताको सेयर तथा बचतलाई ध्यान राख्दै मिलाउने काम भइरहेको छ ।’