माङसेबुङ र दमक क्वाटरफाइनल प्रवेश

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा जुनतारा साँस्कृतिक समूह माङसेबुङ र लिटल किकर्स एकाडेमी दमक विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा साब्जुङ एफसीलाई १-० गोलले हराउँदै जुनतारा साँस्कृतिक समूह माङसेबुङ अघिल्लो चरणमा प्रवेश गरेको हो । म्यान अफ द म्याच घोषित जुनताराका कप्तान मनु लिम्बूले गरेको एकमात्र गोल जितका लागि निर्णायक भएको थियो ।

त्यस्तै दोस्रो खेलमा नाइनस्टार चिलिङदेन विरुद्ध २-० को सहज जित निकाल्दै लिटल किकर्स एकाडेमी दमक क्वाटरफाइनल प्रवेश गरेको हो । लिटल किकर्सको जितका लागि दुवै गोल निमा तामाङले गरेका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलो कोल्बोटै एफसी र युथ युनाइटेड गोदक  इलाम तथा दोस्रो खेलमा डिएक्सएन पितामरु र फुङनाम स्पोर्टिङ क्लब चुलाचुली-६ बीच प्रतिष्पर्धा हुनेछ ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा  जारी प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार