दोकानडाँडामा खुल्ला नकआउट फुटबल सुरु, फाल्गुनन्द र देउराली विजयी

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा शनिबार खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको  खेलमा फाल्गुनन्द खेलकुद समिति फाकफोकथुम-७ र देउराली युनाइटेड विजयी भएका छन् ।

उद्घाटन खेलमा आयोजक फाकफोकथुम खेलकुद विकास समितिलाई १-० गोल अन्तरले रोक्दै फाल्गुनन्द अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा देमाई नगरपालिका एफसी विरुद्ध १-० गोलको कठिन जित निकाल्दै देउराली युनाईटेडले क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।

प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेलमा फुङ्वा युवा समूह फाकफोकथुम-४ र फाक्तिप युथ क्लब पाँचथर तथा दोस्रो खेलमा महमाई एफसी र फाइभस्टार आसङराङ पाँचथर भिड्दैछन् ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा संचालन हुने प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार