इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन् ।
शुक्रबारको खेलमा एनआरटी एफसी चमैता, इस्ट इलाम एफसी, केवाईसी शान्तिडाँडा एफसी र तपेवा एफसी विजयी भएका छन् ।
पहिलो खेलमा आयोजक साब्जुङ खेलकुद विकास समितिलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटी एफसी चमैता अघिल्लो चरणमा प्रवेश गर्यो ।
दोस्रो खेलमा सिम्ले एफसीलाई २-० गोलको सहज जित निकाल्दै इस्ट इलाम एफसी क्वार्टरमा प्रवेश गर्यो ।
तेस्रो खेलमा सुर्के एफसी विरुद्ध १-० को कठिन जित दर्ता गर्दै केवाईसी शान्तिडाँडाले अघिल्लो चरणको यात्रा तय गर्यो ।
त्यस्तै चौथो खेलमा टिवाइसी एफसी मंगलबारेलाई २-० गोलको अन्तरले पराजित गर्दै तपेवा एफसी क्वार्टरमा प्रवेश गर्यो ।
प्रतियोगिता अन्तरगत शनिबारदेखि क्वार्टर चरणका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरमा इस्ट इलाम र पिपलबोटे एफसी, दोस्रो खेलमा तपेवा एफसी र मिरमिरे एफसी, तेस्रो खेलमा विकल्प एफसी र एनआरटी एफसी चमैता तथा चौथो खेलमा केवाईसी शान्तिडाँडा र हेभेन एफसी दमकबीच प्रतिष्पर्धा हुनेछ ।
नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् । प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुने वाईसीएल देउमाई नगर समिति इन्चार्ज डिवन राईले जानकारी दिए ।