इलाम : भोलि (शनिबार) देखि इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूल नारासाथ संचालन हुने प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा नयाँ बुलन्द डटकम रहेको छ ।
फाइनलको अवसरमा साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ । कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बूसहित अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।