माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ का ७९ वर्षीय ज्येष्ठ नागरिक रामराज शेर्मा बिहीबार निकै खुशी देखिन्थे । आफ्नो वृद्धभत्ता नगद नै आफ्नै वडा कार्यालयबाट पाउँदा खुशी नहुने पनि कुरै भएन । आफ्ना जनप्रतिनिधि र कर्मचारीहरू वडामै आएर सम्मानका साथ नगद १२ हजार रुपैयाँ पाउँदा शेर्माको अनुहार उज्यालो देखिन्थ्थो ।
वृद्धभत्ता लिन सधैं देउमाई नगरपालिकाको मङ्गलबारे बजार जानुपर्ने बाध्यतामा रहेका त्यहाँका लाभग्राहीहरु वडा कार्यालयबाटै पाउन थालेपछि खुशी भएका हुन् । ‘वृद्धभत्ता लिन अर्को पालिकाको मङ्गलबारे बजार जानुपर्ने बाध्यता थियो । एक पटक त ट्याक्सीले छोडेछ, पैदल हिँडेर मंगलबारेसम्म त पुगियो तर बैङ्क बन्द भएपछि मात्र पुगेकाले भत्ता निकाल्न सकिएन’ शेर्माले विगतलाई स्मरण गर्दै भने, ‘अब यहीँबाट नगद नै पाइने रहेछ, आनन्द भयो ।’
अर्की ज्येष्ठ नागरिक ८० वर्षीय कृष्णमाया बरालको संरक्षक छोराले सधैं घरमै भता ल्याईदिने गरेको भएपनि शुक्रबार आफैं थाप्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘मलाई अरुबेला पनि बैंक धाउनु त परेको थिएन, छोराले नै निकालेर ल्याईदिने गर्दथ्यो । तर आज बैंक यहिँ आएको छ भन्ने सुनेर आएँ’ बरालले भनिन्, ‘भत्ता लिन पनि पाईयो, लामो समयदेखि भेट नभएका साथीहरुसँग भेट्न पनि पाइयो ।’
अर्की ज्येष्ठ नागरिक ७१ बर्षकि बेदमाया ढुङ्गानाले बैङ्क वडामै आएर भता दिँदा असाध्यै खुशी लागेको बताइन् ।
गाउँपालिका अध्यक्ष हेमन्त राईको नेतृत्वमा कर्मचारीसहितको टोलि वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । बिहीबार माङसेबुङ गाउँपालिका-१ का दुई सय ५० जना जेष्ठ नागरिक, जेष्ठ नागरिक भत्ता (दलित), विधवा (आर्थिक सहायता), पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग), अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग), र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिएका छन् ।
सामाजिक सुरक्षा भता अनिवार्य बैङ्किङ प्रणालीबाट वितरण गर्ने सरकारको नीति आएपछि यस क्षेत्रका लाभग्राहीहरु देउमाई नगरपालिकाको मंगलबारे बजार वा माङसेबुङ गाउँपालिकाको प्रशासनिक केन्द्र इभाङ धाउनुपर्ने बाध्यता थियो ।
गाडी अभाव, अप्ठेरो बाटो लगायतसमस्यालाई मध्यनजर गर्दै माङसेबुङ गाउँपालिकाले सिटिजन्स बैङ्क इन्टरनेशनलसँगको सहकार्यमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । यसरी सम्बन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि सेवाग्राहीहरुलाई राहत मिलेको छ ।
अघिल्लो महिना माङसेबुङ गाउँपालिका ५ नं. वडा कार्यालयबाट सुरू गरेको यो अभियान सबै वडामा लगिने माङसेबुङ गाउँपालिका अध्यक्ष राई बताउँछन् । ‘हामी सिटिजन्स बैङ्कका कर्मचारीहरू हरेक ३ महिनामा १ पटक सबै वडामा यसरी नै लिएर जानेछौं र सेवाग्राहीलाई हातहातमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नछौं’ अध्यक्ष राईले भने, ‘यो अभियान निरन्तर संचालन गर्नेछौं ।’
माङसेबुङ गाउँपालिकाका जेष्ठ नागरिक, जेष्ठ नागरिक भत्ता (दलित), विधवा (आर्थिक सहायता), पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग), अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग), र दलित बालबालिका गरी एक हजार सात सय ६५ जनाले एक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता पाउँदैछन् ।
संघीय सरकारले प्रत्येक ३/३ महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।