लोकल कुखुराको भाले र पोसिलो आहार बोकेर सुत्केरी भेट्दै वडाध्यक्ष राई

  राम योङहाङ/देवेन्द्र पौडेल
1.3k Shares

सुत्केरीलाई लोकल कुखुराको भाले वितरण गर्दै चुलाचुली गाउँपालिका-५ का वडाध्यक्ष बबिन राई ।

 चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-५ का वडाध्यक्ष बबिन राई पोसिलो आहार बोकेर वडाभित्रका हरेक सुत्केरीलाई भेट्न सुत्केरीको घरमा पुग्ने गरेका छन् ।

आफ्नो कर्मचारी र स्वास्थ्यकर्मीलाई लिएर वडाध्यक्ष राई वडाभित्र स्थायी बसोवास गर्ने हरेक सुत्केरीको घरमा पुग्ने गरेका हुन् ।

लोकल कुखुराको भाले, गाईको शुद्ध घ्यू, हर्लिक्स र फलफूल लिएर सुत्केरीको घरमा पुग्ने गरेका हुन् । वडा कार्यालयले चालू आर्थिक वर्ष २०८०।०८१ मा सुरु गरेको ‘सुरक्षित प्रसुती मातृत्व स्याहार, वडा नं. ५ को पोषिलो आहार’ कार्यक्रम अन्तरगत वडाध्यक्ष राई सुत्केरीको घरमा पुग्ने गरेका हुन् ।

चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम र बजेट अन्तरगत वडा सिलिङतर्फको बजेटबाट सो वडाले ‘सुरक्षित प्रसुति मातृत्व स्याहार, वडा नं. ५ को पोषिलो आहार’ कार्यक्रम संचालनमा ल्याएको हो ।

स्थानीय स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराएर नजिकैको अस्पतालमा सुत्केरी भई ३५ दिनभित्र वडा कार्यलयमा बच्चाको जन्म दर्ता गरेका आमाहरुका लागि वडा कार्यलयले पोसिलो आहार प्रदान गर्ने गरेको छ ।

चुलाचुली गाउँपालिका-५ भित्र स्थायी बसोवास गर्ने सुत्केरी लक्षित कार्यक्रम अन्तरगत मांसाहारी सुत्केरीलाई २ केजी बराबरको लोकल कुखुराको भाले एउटा, गाईको शुद्ध घ्यु १ केजी, हर्लिक्स आधा केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको छ ।

त्यस्तै साकाहारी सुत्केरी आमाहरुका लागि गाईको शुद्ध घ्यु २ केजी, हर्लिक्स १ केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको छ ।

गत ६ साउनमा सुत्केरी भएकी चुलाचुली गाउँपालिका-५ की अनुपा मगर, २६ भदौमा सुत्केरी भएकी सृजना न्यौपाने, २ असोजमा सुत्केरी भएकी देविका राई र  ६ कात्तिकमा सुत्केरी भएकी अस्मिता राईलाई वडा कार्यालयले पोसिलो आहार प्रदान गरेको छ ।

मंगलबार वडाअध्यक्षसहित जनप्रतिनीधि, कर्मचारी र स्वास्थ्यकर्मीको टोली सुत्केरीको घरमा पुगेर पोसिलो आहार वितरण गरेको हो । साथै आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँच र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरेको छ । दुईजना मांशाहारी र दुई जना शाकाहारी सुत्केरीलाई वडाले पोसिलो आहार प्रदान गरेको हो ।

परम्परागत अन्धविश्वासले निम्त्याउने समस्या न्युनीकरण गर्दै सुत्केरी आमा तथा नवजात शिशुको मृत्युदर घटाउन, कुपोशण तथा निमोनिया झाडापखाला लगायत रोगबाट बच्न, स्वास्थ्यकर्मीलाई परिचालन गर्दै स्वस्थ्य समाज निर्माण गर्न कार्यक्रम सुरु गरिएको वडाध्यक्ष राईले बताए ।

‘प्रत्येक वर्ष प्रत्येक नयाँ कार्यक्रम सुरु गर्ने उदेश्य बमोजिम पहिलो बैठकबाट निर्वाचित भएको पहिलो बैठकबाट नै सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी यो कार्यक्रमको निर्णय गराएको थिएँ’ वडाध्यक्ष राई भन्छन्, ‘यो कार्यक्रमले स्वास्थ्य सम्बन्धी जनचेताना जगाउनुका साथै घटना दर्ता सम्बन्धी तथ्याङ्कलाई समेत चुस्तदुरुस्त राख्नमा सहयोग मिल्नेछ ।’

कार्यक्रमका लागि प्रतिसुत्केरी दुई हजार पाँच सय देखि तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । वडाले चालू आवका लागि विषयगत क्षेत्र ‘सामाजिक विकास’ अन्तरगत सो कार्यक्रमका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

वडाको आधारभूत स्वास्थ्य चौकी शिखरकटेरी र गाउँघर क्लिनिकि बुकुवामार्फत करिब ५२ जनाले नियमित चेकजाँच गरिहरको वडाध्यक्ष राई बताउँछन् । ‘एक आवमा करिब ६५ को हाराहारीमा गर्भवतीले नियमित चेकजाँच गर्ने अनुमान छ । त्यसमध्ये करिब १० जना माइतमा बसेको वा जागिरको शिलाशिलामा बसेकाहरु छन् । उनीहरुले यो सुविधा पाउँदैनन्’ वडाध्यक्ष राई भन्छन्, ‘हामीले विनियोजन गरेको बजेटले अलिकति नपुग्ला । पछि रकमान्तर गरेरै भएपनि व्यवस्थापन गरिनेछ ।’

वडाले हरेक आर्थिक वर्ष नयाँनयाँ कार्यक्रम थप्दै लैजाने योजना रहेको वडाध्यक्ष राई बताउँछन् । सो वडाले अघिल्लो वर्षदेखि सो वडाका २ विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई नियमित गृह कार्य गर्ने, सरसफाई, नियमित हाजिरी हुने लगायतका ४ विधामा उत्कृष्ठ विद्यार्थीलाई त्रैमासिक रुपमा पुरस्कृत गर्ने गरेको छ ।

संघ, प्रदेश र गाउँपालिकाले सन्चालन गरेका आयोजना, कार्यक्रमका साथमा वडाले समेत छुट्टै रुपमा विद्यार्थी पुरस्कृत कार्यक्रम, पोसिलो आहार कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमहरु सन्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार