माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले वडा नं. १ का लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
यसअघि वडा नं. ५ का लाभग्राहीको हातहातमा नगद नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको माङसेबुङले विहीबार वडा नं. १ का लाभग्राहीको हातहातमा नगद नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।
माङसेबुङले वडा कार्यालयबाट विहानैदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ ।
विगतमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्दै आएको माङसेबुङले यस पटकदेखि सेवाग्राहीको हातहातमा पुर्याउन थालेको हो । माङसेबुङले यसअघि २ कात्तिकमा वडा नं. ५ मा लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको थियो ।
स्थानीय सिटिजन्स बैंक इन्टरनेशनलसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले नगद नै सेवाग्राहीको हातहातमा पुर्याउन थालेको हो ।
बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई हैरानी खेप्नुपरेको भन्दै माङसेबुङ गाउँपालिकाले बैंकसँगको सहकार्यमा हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई पायक पर्ने गरी सम्बन्धित वडा कार्यालयमा नै उपस्थित गराएर हातहातमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बताए ।
अन्य वडामा समेत क्रमश: वडा वडामा नै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नगद नै उपलब्ध गराईने अध्यक्ष राईले बताए ।
यसअघि गाउँपालिकाले माङसेबुङमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । त्यसो गर्दा बैंकमा सेवाग्राहीको चाप बढ्ने र टाढाटाढाबाट गाउँपालिका र झापाको दमकसम्म धाउनुपर्ने भएकाले सेवाग्राहीले हैरानी खेपिरहेका थिए । हातहातमै भत्ता आउन थालेपछि सेवाग्राही समेत खुसी भएका छन् । गाउँपालिकाको यो निर्णयबाट जनताले स्थानीय सरकार घरघरमा आएको वास्तविक रुपमा महसुस गर्न पाएका छन् ।
माङसेबुङ गाउँपालिकामा जेष्ठ नागरिक, जेष्ठ नागरिक भत्ता (दलित), विधवा (आर्थिक सहायता), पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग), अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग), र दलित बालबालिका गरी एक हजार सात सय ६२ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।
२०७८ को जनगणनाको प्रतिवेदन अनुसार माङसेबुङ गाउँपालिकामा १६ हजार आठ सय १० जनसंख्या रहेको छ ।