माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आज (बिहीबार) वडा नं. १ मा निवेदन दर्ता तथा नापनक्सा (लगत प्रविष्टि) को निस्सा वितरण गर्दैछ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वडावडामा वितरण सुरु गरेको माङसेबुङले आज वडा कार्यालयमा वितरण गर्नेछ ।
त्यस्तै माङसेबुङ गाउँपालिकाले शुक्रबार वडा नं. ५ मा र शनिबार वडा नं. ४ मा निस्सा वितरण गर्ने तयारी गरेको छ ।
माङसेबुङले यसअघि वडा नं. ६ , ३ र २ मा निस्सा वितरण गरिसकेको छ । माङसेबुङले वडा नं. ६ मा १६ असोजमा, वडा नं. ३ मा १७ असोजमा र वडा नं. २ मा विहीबार निस्सा वितरण गरेको थियो ।
माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् ।
भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा ३ हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् ।
भूमि आयोग जिल्ला कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रणालीमा प्रविष्ठ गरिरहेको छ ।
लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ ।
अन्यत्र जग्गा भएतापनि चर्चेको त्यस्तो जग्गाको धनीपूर्जा पाउनसक्ने भएकाले स्थानीय तहले त्यस्ता जग्गाधनीको लगत सङ्कलन गरिरहेको हो । एक टुक्रा जग्गासमेत नभएका र वार्षिक आम्दानीले परिवार पाल्न मुस्किल परिरहेका दलित तथा सुकुम्बासी परिवारको लगत सङ्कलन गरेर आयोगले उनीहरुलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने नीति आयोगको नीति छ ।