लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा वितरण गर्दै माङसेबुङ गाउँपालिका

  राम योङहाङ/बालकृष्ण बस्‍नेत
525 Shares

एक जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई । तस्विर  : बालकृष्ण बस्नेत

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । विगतमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्दै आएको माङसेबुङले यस पटकदेखि सेवाग्राहीको हातहातमा पुर्‍याउन थालेको हो ।

स्थानीय सिटिजन्स बैंक इन्टरनेशनलसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले नगद नै सेवाग्राहीको हातहातमा पुर्‍याउन थालेको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विहीबार वडा नम्बर ५ देखि औपचारिक रुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको हातहातमा वितरण गर्न थालेका हुन् ।

बिहीबार माङसेबुङ गाउँपालिका-५ का लाभग्राहीलाई वडा कार्यालयमा उपस्थित गराएर उनीहरुको हातहातमा सामाजिक सुरक्षा भत्ता नगदै उपलब्ध गराएका हुन् । विहीबार मात्र एक सय ९८ जना लाभग्राहीलाई हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई हैरानी खेप्नुपरेको भन्दै माङसेबुङ गाउँपालिकाले बैंकसँगको सहकार्यमा हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई पायक पर्ने गरी सम्बन्धित वडा कार्यालयमा नै उपस्थित गराएर हातहातमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बताए ।

‘बैंक सबैको पायक पर्ने ठाउँमा छैन । चेक साट्न इभाङ वा दमकसम्म पुग्नेपुर्ने अवस्था छ । गाडीभाडा मात्र एक हजारदेखि १५ सयसम्म तिर्नुपर्ने अवस्था छ । धेरै लाभग्राहीहरु बैंकसम्म आफैं उपस्थित हुन समेत सक्दैनन्’ अध्यक्ष राईले भने, ‘लाभग्राहीको यस्ता विभिन्न समस्यालाई मध्यनजर गर्दै हामीले सिटिजन्स बैंकलाई अनुरोध गरेर लाभग्राहीको हातहातमा सामाजिक सुरुक्षा भत्ता पुर्‍याउन थालेका हौं ।’

६ वटा वडा रहेको माङसेबुङमा अन्य वडामा भने बैंकिङ प्रणालीबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । अन्य वडामा समेत क्रमश: वडा वडामा नै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नगद नै उपलब्ध गराईने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

‘भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई बैंकसम्म आउनजान अत्यन्तै कठिन भएका कारण बैंकसँग सहकार्य र समन्वय गरी यस्तो व्यवस्था मिलाएको हुँ’ अध्यक्ष राईले भने, ‘आफू निर्वाचित भएपछि पहिलो पटक वडा नं. ५ बाट सुरुआत गरेको छु । यसलाई अन्य वडामा समेत निरन्तरता दिनेछु ।’

घरबाट बैंकसम्म पुग्न नसक्ने अशक्त, अपाङ्गता भएका, बालबालिका र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता हातहातमा थमाइदिन अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, वडाअध्यक्ष नरेन्द्रकुमार रई, कर्मचारीहरु मनकुमार मगर, मचिन्द्राज लिम्बूलगातय वडाका कर्मचारी र बैंकका कर्मचारीहरु विहीबार दिनभर खटेका थिए ।

अब गाउँपालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरू सामाजिक सुरक्षा भत्ता बोकेर सर्वसाधारण लाभग्राहीको पायक पर्ने स्थानमै पुग्नेछन् । यसबाट भत्ता लिनकै लागि टाढाटाढादेखि आएर बैंकमा पालो कुर्नुपर्ने झन्झटको अन्त्य हुनेछ ।

यसअघि गाउँपालिकाले माङसेबुङमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । त्यसो गर्दा बैंकमा सेवाग्राहीको चाप बढ्ने र टाढाटाढाबाट गाउँपालिका र झापाको दमकसम्म धाउनुपर्ने भएकाले सेवाग्राहीले हैरानी खेपिरहेका थिए । हातहातमै भत्ता आउन थालेपछि सेवाग्राही समेत खुसी भएका छन् । गाउँपालिकाको यो निर्णयबाट जनताले स्थानीय सरकार घरघरमा आएको वास्तविक रुपमा महसुस गर्न पाएका छन् ।

‘हामीजस्ता बुढाबुढीलाई हातहातमै भत्ता वितरण गरेर सरकारले धर्म गरेको छ’ स्वाग्राही लालमाया लावतीले खुसी व्यक्त गर्दै भनिन्, ‘सधैं यसरी नै पाउन पाइयोस् ।’

माङसेबुङ गाउँपालिकामा जेष्ठ नागरिक, जेष्ठ नागरिक भत्ता (दलित), विधवा (आर्थिक सहायता), पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग), अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग), र दलित बालबालिका गरी एक हजार सात सय ६२ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

२०८० को जनगणनाको प्रतिवेदन अनुसार माङसेबुङ गाउँपालिकामा १६ हजार आठ सय १० जनसंख्या रहेको छ ।

अध्यक्ष राई गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भई माङसेबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले गठबन्धनमा साझा उम्मेद्वार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई तीन सय २३ मतान्तरले पराजित गरेका थिए । २०७४ को निर्वाचनमा भने राई उनै इदिङ्गोसँग अध्यक्ष पदमा पराजित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार