पाँचथर: एक दशक अघि २६ हजार रुपैंयाबाट स्थापना गरेको घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारीको अहिले ७ करोड हाराहारी कारोबार पुगेको छ ।
इलाम र पाँचथरको सिमानामा रहेको घुर्बिसे पञ्चमीमा २६ जना स्थानीय अग्रजले पाँचथरमा दर्ता गरी झोलादेखि संचालन गरेको सहकारी फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडामा रहेको छ । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा अभावको समयमा स्थापना भएको संस्था नाफामुखी भन्दा पनि सेवामुखी भावनाको विकाश गर्दै सिमावर्ती दुई जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङले जानकारी दिए । पाँचथरको फाल्गुनन्द ४ र ५, मिक्लाजुङको वडा नम्बर १ साथै इलामको फाकफोकथुम १ का नागरिक यस सहकारीमा आवद्ध छन् । फराकिलो सेवा क्षेत्र ओगटेको यस संस्थाले प्रत्येक महिना दुई स्थानबाट घुम्ती सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सहकारीले शनिबार ११ औं साधारण सभा सम्पन्न गर्दे गतिविधि सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा संस्थाले ०७९/८० मा खुद नाफा बृद्धि गरेको छ । यस संस्थाको शेयर पूँजी,बचत,लगानी,सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित अहिले सम्मको वासलत ६ करोड ८७ लाख ६८ हजार ३१२ रुपैयाँ ६३ पैसा कारोवार गरेको छ । कोषाध्यक्ष विमला पोख्रेलले ९६ लाख ३२ हजार ७३९ रुपैया ७० पैसा आम्दानी मध्ये ३५ लाख ८७ हजार २७५ रुपैंया शुद्ध बचत (नाफा) को हिसाव आर्थिक प्रतिवेदन विमला पोख्रेलले प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन संयोजक कमल खड्काले प्रस्तुत गरका थिए । ०८०/८१ को प्रस्तावित कार्ययोजना तथा लक्ष्य र अनुमानित प्रस्तावित खर्च विवरण सचिव राज कुमार श्रेष्ठले प्रस्तुत गरे । ९८८ जना सदस्य र २८४ बालबचत संख्या रहेको छ । सहकारीले शेयर सदस्यलाई यस वर्ष १२ प्रतिशत शेयर लाभांश वितरण गर्ने जनाएको छ ।
अध्यक्ष चेम्जोङले पेश गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित भएको संस्थाका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए । २०७१ सालमा ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा यस संस्थालाई डिभिजन सहकारी कार्यलय इलामले पाँचथर जिल्लाको उत्कृष्ट बचत तथा ऋण पुरस्कार प्रदान गरेको छ । यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाँचथरले आवधिक बचतकर्ता सहकारी मध्ये यस सहकारीलाई उत्कृष्ट छनौट गरी २०७८ फागुन २८ गते सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक उत्सवका अवसरमा २०७९ पौष १८ गते सम्मान गरेको जनाइएको छ ।
कोरोना महामारीसंगै बृद्धि भएको खराब ऋण यस आर्थिक वर्षमा भने उल्लेख्य सुधार भएको र बाह्य कर्जा समेत घटाइएको व्यवस्थापक युवराज निरौलाले जानकारी गराए । संस्थाले विधुत बिल,डिसहोम रिचार्ज,मोवाइलका रिचार्ज,हवाई टिकट साथै आइएमइ,प्रभु,हिमाल रेमिटेन्सबाट सेवा दिदै आएको उनले बताए ।
संस्थाद्वारा समिति सदस्य र कर्मचारीको सहभागितामा लेखा,ऋण,सहकारी,तरलता व्यवस्थापन लगायतका तालिम सम्पन्न गरेको छ । सहकारीले विभिन्न अवसरमा हरेक क्षेत्रका उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्दै आएको छ । मृतक शेयर सदस्यलाई काजक्रिया खर्च सहयोग समेत दिने गरेको छ । जिल्लाकै उत्कृष्ठ सहकारीका रुपमा परिचित यो सहकारी यस क्षेत्रको नमुना सहकारी बन्दै गएपछि शेयर सदस्यको मन जितेको साथै सबैको आकर्षण बन्दै गएको स्थानीय ध्रुव कुमार चेम्जोङले बताए । आगामी दिनमा सहकारीले आफ्नै कार्यालय भवन निर्माण गर्न जग्गा पनि खरिद गरिसकेको जनाएको छ ।