कृषि अनुदानको दुरुपयोग : अदुवा पकेटका नाममा निकालिएको अटो बिक्री

  नयाँ बुलन्द
581 Shares


इलाम : किसानको उन्नति र विकासका लागि सरकारले बर्सेनि अर्बौँको बजेट छुट्टाएको हुन्छ । कृषि कार्यक्रमहरू छोटो र लामो समयका लागि भन्दै सञ्चालनमा आएका पनि छन् । बजेट र अनुदान हेर्दा सरकारले किसानप्रति निकै सहानुभूति प्रकट गरेको देखिन्छ । प्रदेश सरकार पनि किसानका लागि लोभलाग्दो बजेट लिएर आउँछन् ।

कतिपय ठाउँमा एउटै किसानले प्रदेशको कार्यक्रम, वडाको कार्यक्रम, नगरपालिकाको कार्यक्रम साथसाथै सङ्घीय सरकारको पनि कार्यक्रम पाइरहेको हुन्छ । वास्तविक किसानलाई त फर्म दर्ता गर्ने विधि र प्रक्रियाबारे समेत थाहा छैन । न त उनीहरू फर्म दर्ता गरे कर तिर्ने सामर्थ्य नै राख्छन् । त्यस कारण पनि वास्तविक किसानले विभिन्न अनुदान पाउन सकिरहेका छैनन् । जो असली किसान हो त्यसले कुनै कार्यक्रम पाएको हुँदैन । यही अवस्थाका कारण किसानलाई दिने अनुदान कार्यक्रम फलदायी बन्न सकेको छैन भने किसानको नाममा चतुर्‍याइँ गर्नेहरूले फाइदा उठाइरहेका छन् । जसको उदाहरण बनेको छ इलाम ।

इलाम नगरपालिका ९ मा अदुवा पकेट क्षेत्रका लागि भन्दै कृषि ज्ञान केन्द्रबाट सेतो मालबाहक अटो अनुदानमा निकालियो । २०७५ सालमा कृषि ज्ञान केन्द्रका प्रमुख सालिकराम भट्टराई कार्यालय प्रमुख भएको बेला सोही कार्यालयमा आफू लेखाहुँदा महेन्द्र चौहानले अदुवा पकेट क्षेत्रमा प्रयोग गर्ने भन्दै अनुदानमा अटो निकाले । अदुवा पकेट क्षेत्रका लागि कृषि प्रयोजनका नाममा निकालिएको अटो बजारमा कहिले सिमेन्ट ओसार पसारमा हुन्छ त कहिले कागतीको व्यापारमा प्रयोग गर्ने गरेको पाइन्छ । अनुदानमा लिएको सामान कृषि प्रयोजन बाहेक प्रयोग गर्न पाइँदैन, त्यस्ता सामानमा कार्यालयको नाम लेखेर अनुदानमा भनेरै खुलाउनै पर्छ तर उक्त अटोमा कृषि ज्ञान केन्द्रको अनुदानमा भन्ने नाम समेट मेटिएको छ ।

त्यति मात्र हैन अनुदानको दुरुपयोग गर्दै बिक्री समेत गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख टोनि वर्देवाका अनुसार कृषि प्रयोजनका लागि अनुदान लिएको सात वर्ष सम्म बिक्री गर्न पाइँदैन, इलाम नगरपालिका नौ को अदुवा पकेट क्षेत्रका लागि अनुदानमा लगिएको अटो बिक्री भएको भन्ने थाहा पाएपछि कार्यालयबाट पत्राचार गरेको र फिर्ता समेत भएको बताउँछन् । कृषिबाट अनुदान पाएको गाडीमा कृषि ज्ञान केन्द्रको अनुदान भनेर देख्ने गरी नाम लेखिएको हुन्छ र अनुदान लिएको ७ वर्ष सम्म बिक्री गर्न नपाउने उनको भनाई छ ।

यता अदुवा पकेट क्षेत्रमा अनुदानका लागि सवारी लगेका महेन्द्र चौहान आफूले दुरुपयोग नगरेको बताउँछन् । उनले केही दिन अभि ड्राइभरले कागती बेच्न बजारमा लगेको स्वीकार गरे पनि सिमेन्ट बोक्नका लागि प्रयोग नभएको दाबी गर्छन् । बिक्री गरेको विषयमा उनले अहिले सम्म आफूले बिक्री नगरेको बताए पनि कृषि ज्ञान केन्द्रले पत्र काटेपछि फिर्ता गरेर बिक्री नगरिएको भन्दै आफ्नै नाममा रहेको दाबी गर्दै आएका छन् । उता गाडीमा कृषि ज्ञान केन्द्रको अनुदान भनेर लेखेको मेट्नु भएछ नि भन्ने प्रश्नमा ड्राइभरले गाडी राम्रो बनाउन स्टिकर टालेको भन्ने गैर जिम्मेवार जवाफ दिए । उनले अहिले गाडी बनाउन बिर्तामोड लगेको बताउँदै आएका छन् तर अनुदानमा लिएको उक्त सवारी फेरी पनि बेचेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार