इलाम : प्रदेश १ (कोशी प्रदेश) मा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली कांग्रेसले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।
प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि गत २० गते पदबाट राजीनामा दिएका थिए । त्यसको केही घण्टामै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका थिए ।
कार्कीको राजीनामासँगै कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको थियो । यसअघि दुई पटक विश्वासको मत नपाएका कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकाङ्क्षी थिए ।
कांग्रेसको नेतृत्वमा बनेको सरकारले दुई पटक विश्वासको मत नपाएपछि यसपटक भने माओवादी केन्द्रका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धन सहमत भएको हो । आङ्बोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सहयोग गर्ने भएको छ ।
कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठनका लागि बहुमत जुटाउन ४७ मत आवश्यक पर्छ । पहिलो दल एमालेको ४० सिट हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन् ।
राप्रपाले पनि आङ्बोलाई सहयोग गर्दा उनको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ ।