रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक

  नयाँ बुलन्द
434 Shares

इलाम : नेपालमा सामुदायिक विद्यालय सुधारका लागि संघदेखि स्थानीय सरकारसम्मले राम्रो लगानी गरेका छन् । विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी नहुने र अभिभावकले विद्यालयमा पढाउन नपठाउने आम समस्या नै छ ।

यो समस्याको हल गर्न इलामको रोङ गाउँपालिकाले भने गज्जवको आइडिया निकालेको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ ।

नगरपालिकाको पहलमा कक्षा ८ भन्दा माथिका विद्यार्थीले महिनामा १ दिन बिदा पाउनेछन् । त्यो दिन उनीहरुले घरमा अभिभावकले गर्ने काम गर्नुपर्नेछ भने अभिभावक भने सिक्नका लागि निस्कने छन् ।

तर अभिभावकले भने विद्यालयमा नभइ गाउँपालिकाले व्यवस्थापन गरेको स्थानमा गएर सिकाइ गर्नुपर्नेछ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार  सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम अघि सारेको हो ।

अभिभावकलाई सिकाउन पालिकाले सहजकर्ता नियुक्त गरेर उनीहरुलाई तालिम दिने छ । सहजकर्ताका लागि गरिएको आह्वानमा १५ जनाले आवेदन दिएको र उनीहरुलाई तालिम दिएपछि अभिभावकलाई ती सहजकर्ता र शिक्षकको सहायतामा तालिम, ज्ञान र अनुभव आदानप्रदान गरिने छ ।

अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको  बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार