नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मंसीर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ । ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ नामको ‘थिम’ लिएर गएको छ । संगसंगै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नारा तय गरेको छ । माओवादीको अभियानको यो चरणपछिको कार्यक्रमिक रुपरेखा आइसकेको छैन । तर, कार्यक्रम देशव्यापी गर्दा पनि मूख्य सञ्चारमाध्यममा माओवादीको यो प्रकारको उपस्थितिले समाचारीय मूल्य पाउन भने सकेको हैन । माओवादी कार्यकर्ताहरु बढार-कुँढार त गर्दैछन । उनीहरुको यो देशव्यापी प्रारम्भिक अभियान सामाजिक सञ्जाल अन्तरगतको ‘मुहार पुस्तिका’मा आफैले खिचेर पोष्ट्याएको स्वार्थी (सेल्फी) फोटोले जेनतेन जानकारी दिएको छ । युटयुव तथा अन्य माध्यममा पनि झिनो उपस्थिति मात्रै छ ।
माओवादी, सत्तारुढ दल हो । सत्तारुढ दलको सांगठानिक सक्रियता भएकै हुन्छ । सत्ताभन्दा बाहिर रहेका राजनैतिक दलको दैनिक क्रियाकलाप पनि हुन्छ भने सत्तारुढको बढी नै हुनु अस्वाभाविक हुन्न । जनवर्गीय तथा शुभेच्छुक संगठनमार्फत दैनिक क्रियाकलाप पनि भएकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित राजनैतिक परिस्थितिमा जनसभा, रैली वा अभियान गर्नु बेग्लै कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको अन्तर्य के होला ? पार्टी संगठनमा कुनै भवितब्य आइलागेको पनि छैन । केन्द्रीयदेखि सबै कमिटीको बैठक पनि भैरहेका छन । केन्द्रिय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रिय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरुलाइ बिलो लगाएर केन्द्रिय कमिटीको विस्तार पूणर् बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको संकेत पनि छैन । सत्ता गठबन्धन तलवित्तल होला भन्ने पञ्चाङ्ग योग पनि राजनैतिक ज्योतिषले बताएका हैनन । फेरी पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरुले पर्यवेक्षण गर्ने विषय यहि हो ।
फिनिक्स र नार्सिससको जिवन चक्र ः
हामी निक्कै विग्रियौं । हामी सच्चिने की सिद्धिने ? हामी सुध्रिने की सिद्धिने ? हामी नसुध्रिने हो भने सिद्धिन्छौं ? माओवादी नेताको यो थेगो नै हो । माओवादी सुप्रिमोदेखि कनिष्ठ नेताहरुको मुखाग्र थेगो हो । को विग्रियो ? किन विग्रियो ? नेता विग्रे की कार्यकर्ता ? उपल्लो कोटीका नेता विग्रे की तल्ला कमिटीका नेता विग्रे ? उपल्लो कमिटीदेखि तल्लो कमिटीसम्म विग्रेकाहरुको फेहरिस्त खोइ ? विग्रनुको परिवेश र विग्रेकाको मापदण्डको खुट खबर छैन । एमालेमा गएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखनाथ भट्ट, मणी थापालगायतकाहरु विग्रेका हुन भने उनीहरुले पार्टी छोडि सके चिन्ता लिनु पर्दैन । अझै पार्टीमा बाँकी छन भने विग्रेकाहरु को हुन ? चुनाव जितेर आएकाहरु विग्रेका हुन या हार्नेहरु विग्रे ? घरीघरी मन्त्री, अवसर पाउनेहरु विग्रेका हुन या मन्त्री नपाउनेहरु विग्रे ? कोही त विग्रियो । विग्रेकालाई सपार्नु पर्छ वा मिल्काउनु पर्छ । एक बोरा आलुमा एउटा आलुमात्र कुहिएको छ भने सबै आलु कुहाउँछ भन्ने कहावत नै छ । जम्बो केन्द्रिय समितिमा कति विग्रेका छन ? प्रदेससहीत पालिकासम्मका विग्रेका नेताहरु को हुन ? विग्रेकाहरु सप्रिने सम्भावनाका कती छ ? तीन महिने यो अभियानले माओवादीलाइ सुधार्छ ? या त्यसपछि हुने विधान अधिवेसन र विशेष महाधिवेसनले सुधार्छ वा सच्याउँछ ? यस्ता जटील मनोवैज्ञानिक प्रश्नहरुको चोटिलो उत्तर आउनु पर्छ ।
युनानी पौराणिक कथा अनुसार नार्सिससलाइ इकोले प्रेम नगरे ‘सिद्धिने श्राप’ दिएको कथा यहाँ पनि आकर्षित हुन्छ । ‘इको’ले राखेको प्रेम प्रस्ताव ‘नार्सिसस’ले खारेज गरिदिँदा इकोले दिएको श्राप अनुसार नार्सिसस आफ्नै अनुहारको छाँयाको प्रेममा पागल भएर मर्छन । मनोविश्लेषक सिग्मण्ड फ्रायडले आत्मरतीमा रमाउँदै अहंकारी बन्ने प्रक्रियालाई ‘नार्सिस्जम’ र यस्तो अनुशरण गर्नेलाइ ‘नार्सिस्ट’ भनेर व्याख्या गरेका छन् । कतिपय माओवादी नेताहरुमा नार्सिस्ट प्रवृत्ति छ । जनताको प्रेम प्रस्तावलाइ रत्तिभर गणना नगर्दा माओवादी नार्सिस्जमको नियतिमा पुग्ने त्यत्तिकै सम्भावना छ ।
अर्को युनानी मिथकअनुसार नै ‘फिनिक्स’ चरोको जिवनचर्या पनि यहाँ चर्चा गर्नु वाञ्छनीय हुन्छ । फिनिक्सको उमेर पुगेपछि उसको शरीरमा आगो लाग्छ र त्यही खरानीबाट फिनिक्सले फेरी पुनर्जिवन पाउँछ । खरानीबाट अर्को जन्म पाउने अमर चरोको नयाँ जन्म कथाको सार हो । माओवादीले पनि नार्सिसस हुने की फिनिक्स हुने कुराले उसको जिवन निश्चित गर्छ । सिद्धिने की सच्चिने, सक्किने की सच्चिने कथाको सार हो । ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नाराको औचित्य यहिँनेर आएर कसी लाग्छ ।
माओवादी ‘युवराजहरु’ ः
माओवादीको अभियान चलिरहँदा माओवादीका एक से बढकर एक युवराजका चर्तिकला पनि सतहमा आएका छन् । युवराजहरुको उदण्डताको प्रश्नको नैतिक जवाफ नआउँदा अभियानमा खुसुरफुसुर हुने विषय नै यहि छ । सच्चिने की सक्किने सूत्रको जवाफ युवराजहरुको क्रियाकलाप नै दिइसकेको धारणा व्यंग्यपूणर् अभिव्यक्ति जनताबाट आउने गरेका छन् । आलोचना आत्मआलोचना त माओवादीको विधिमा परेकै होइन । माओवादी अनुशासनका तीन/आठ नियम यतिखेर भर्सेलामा परिसकेका छन् । एकता-आलोचना-एकता विना रुपान्तरण सम्भव हुन्न । तर यहाँ त अपराध कर्मलाइ पनि अदेखा गरिएको छ । र, माओवादीमा युवराज, युवराज्ञी, शाहज्यादा र शाहाज्यादीहरुको ज्यादतीलाइ नरोके महाराज र महारानीको भ्रुण यहिँबाट रहन थाल्छ । रुपान्तरण त आकाशको फल आँखा तरी मर भने जस्तै हुनेछ । जनतालाइ प्रश्न गर्न खुला नगरेसम्म र आलोचना सहन गर्ने क्षमता र विवेक ग्रहण नगरेसम्म परिणाम आउने पनि छैन । भन्नलाइ माओवादी आफ्नो टाउकोमा आफै आगो लगाउनेसम्मको तर्क गर्छन । तर माओवादी कति नेतामा जनताको प्रश्न सुन्ने धैर्यता छ ? कति नेतामा कार्यकर्ताको आलोचना सुन्ने क्षमता छ ? यो अभियानमा माओवादी पङ्तिको वाक्य फुट्नु पर्छ । यी तर्कको नियति पनि यसै अभियान पछि थाहा लाग्नेछ ।
हेमोफ्रोडाइटको प्रसंग ः
सुन तस्करी, ललिता निवास, नक्कली भूटानी शरणार्थीलगायतका भ्रष्टाचारका मुद्धा प्रकरणमा माओवादी नेतृत्वको सरकारलाई जनपक्षीय समर्थन प्राप्त भएको छ । तर, यी काण्डहरु यथार्थ निश्कर्षमा नपुग्दासम्म यो ट्रेलर मात्र हो । यथार्थ निश्कर्षसहीतको किनारा लाग्दा मात्र यसको हैसियत प्रस्ट हुन्छ । अर्को भ्रष्टाचारका यी मुद्धाहरु अस्थायी प्रकारका विषय हुन । अस्थायी मुद्धाले राष्ट्रिय समस्याको स्थायी बन्ध्याकरण गर्न सक्तैन । दीर्घकालीन लोकहित अस्थायी डेलिभरीले स्थायी समाधान गर्दैन । फेरिपनि यहाँ मुलुकको दर्गदिशाको प्रस्थान विन्दू योजनाबद्ध लोकहितकारी वैचारिकीले निर्दिष्ट गर्नेछ । नत्र हिन्दू पौराणिक कथा अनुसार ‘अर्ध-नारीश्वर’ जस्तो लिङ्ग नछुट्टिएको जिव जस्तो हुनेछ । ग्रिक पौराणिक मिथक अनुसार पनि यस्तो अर्ध-नारीश्वर शरीरलाइ ‘हेमोफ्रोडाइट’ मानव भनेर नाम दिइएको छ । चलनचल्तीको भाकामा ‘हेमोफ्रोडाइट’लाइ दुइ लिङ्गी प्राणी भनिएको छ । यसर्थ राजनैतिक दलको भाका लिङ्ग छुट्टिएको हुनु पर्छ ।
रहलपहल ः
सन् २०११ मा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नराम्रो पराजय पछि उसले ‘जाग एक होउ र हराउ’ नारा ल्यायो । कार्यक्रम बेगरका यस्ता नारा नारामा सिमित हुने नै थियो । यसैले त्यसपछि पश्चिम बंगाल र त्रिपुरामा झनै नराम्रो पराजय भयो । कुनै समयमा भारतको राष्ट्रिय एवम् प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बंगाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोकसभामा यतिबेला तीन सिटमा सिमित छ । यसर्थ नारा र अविभारामा तालमेल भएन भने यस्तै नियति दोहरिन सक्छ । माओवादी नेतृत्वलाई यी कुराहरु पच्न सक्छ सक्तैन ? तर भारतीय कम्युनिष्टको पराजयको अन्तरंग घैंटामा लाग्नु पर्छ । शुसासन, समृद्धि र समाजवादको योजनाको नेतृत्व गर्ने दलको कार्यक्रमिक रुपरेखाको दिग्दर्शन जनतामा अनुमोदन हुन जरुरी छ ।