काठमाडौं : राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीको उद्दारमा गम्भीर पहल गर्न सरकारलाई सुझाव दिएका छन् । घर फर्किन चाहने नेपालीहरुका लागि तुरुन्तै जहाज पठाएर नेपाल ल्याउनुपर्ने उनीहरुको जोड छ ।
प्यालेस्टायनी कट्टरपन्थी समूहले इजरायलमा गरेको आक्रमणमा गरी १० जना नेपालीको मृत्यु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए । त्यसअघि बसेको मन्त्रिपरिषदको आकमिस्क बैठकले मृतकहरुको सम्मानमा भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ भने घर फर्किन चाहनेहरुका लागि विमान चार्टर गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयलाई सकारात्मक भनेका नेताहरुले निर्णयलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको माओवादीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकपछि उनले सञ्चारकर्मीहरुसँग भने, ‘दलका नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रशेण गर्न अनुरोध गर्नुभयो ।’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर चल्नुपर्ने कुरा आफूहरुले राखेको बताए । उनले अघि भने, यहाँ कोही आतंककारीहरुले हमला गरे भन्ने ढंगले प्रश्तुत हुने हो भने बेलाबेलामा त्यस्तो हुने गरेको छ, त्यस्तो नहोस् भन्ने कुरा राख्यौँ ।’
इजरायलको बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न समेत आग्रह गरेको बताए । एमाले नेता पोखरेलले भने, ‘निर्णय राम्रो गरेपनि कार्यान्वयनमा जोड होस् भन्ने हो ।’
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय पीडाको अवस्थामा जताततै त्रासको अवस्था रहेको भन्दै अब अगाडि कसरी बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए । जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल कदमी लिन सरकारलाई अनुरोध गरेका भन्दै लेखकले भने, ‘इजरालयमा थप हुनसक्ने घटनालाई ध्यानमा राखेर त्यहाँको सरकारसँग कुटनीतिक पहलमार्फत सुरक्षाका विषय सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।’