जनता रुझाउन माओवादी नेताहरु जनताको घरघरमा

इलाम : नेपाली इतिहासलाई हल्लाउने गरी तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध थालनी भएको २८ वर्ष पूरा भएको छ । तत्कालिन राज्य सत्तालाई परास्त गर्न २०५२ फागुन १ देखि जनयुद्धमा होमिएको माओवादी अन्नतः जनसत्ताबाट जनताको परिवर्तन गर्न केही सफल पनि भयो । माओवादीले युद्धको शंखघोषसँगै उठाएका अक्सर मुद्धाहरु संस्थागत पनि भए ।

माओवादीले जनयुद्ध सुरु गरेको २८ वर्ष पुगेको छ भने विस्तृत शान्ति सम्झौतासँगै देशले शान्ति पाएको १७ वर्ष पुगेको छ । १७ वर्षदेखि माओवादी केन्द्र सत्ताकै वरीपरी छ ।

जनजीविका मुद्धा, समाजमा देखिएका असमानताको खाडल, निरंकुश शासन प्रणाली अन्त्यको मुद्दा उठाएर माओवादी केन्द्र २०५२ साल फागुन १ गते जनयुद्धमा होमिएको थियो । १० वर्ष ९ महिना १ दिन सशस्त्र युद्ध मोर्चामा रह्यो । समाजमा व्याप्त रहेको बेथितिविरुद्ध तत्कालिन अवस्थामा संसदीय प्रणालीबाट देशमा समस्या समाधान गर्न नसक्ने ठहर गर्दै माओवादी जनयुद्धमा होमिएको थियो ।

जनयुद्धका क्रममा माओवादीहरु जनताकै घरमा जनतासँगै रहने गर्दथे । जनताकै घरमा सेल्टर बनाएर युद्धको अभ्यास गर्दथे । माओवादी जनताको हरेक समस्यामा सारथि बन्ने गर्दथे । समाजमा व्याप्त जातीय, वर्गीय, लैंगिक एवम् भाषिक विभेदको अन्त्य एवम् भ्रष्टाचार र बेथितिविरुद्ध विशेष अभियानमा संचालन गर्दथे । यस्ता अभियानहरुमा उत्पीडित एवम् भुँइमान्छेहरुको साथ र समर्थन राम्रै थियो । सबैजसो अभियानमा जनताको साथ र सहयोग राम्रै हुने गर्दथ्यो ।

जनयुद्धमा माओवादीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने थुप्रै अभियान संचालन गरेर जनतासँगै रम्ने गदर्थ्यो । थुप्रै अभियानमध्ये एउटा प्रमुख अभियान थियो ‘जनश्रमदान’ । माओवादीले गाउँगाउँमा श्रमशिविर अभियान संचालन गरेको थियो । जनताकै साथ लिएर नियमजस्तै बनाएर मासिक रुपमा श्रमदान गर्ने बानीको विकास गरेका थिए । माओवादीका नेताकै नेतृत्वमा श्रमदान हुने गर्दथ्यो । कतिपय श्रमदानमा जनमुक्ति सेनाको समेत सहभागिता रहने गर्दथ्यो ।

माओवादी नेताकै नेतृत्वमा हुने श्रमदानमा जनता पनि उत्साहित भएरै श्रमदानमा सहभागी हुने गर्दे । गाउँघरको विकास निर्माणसँग समेत जोडिने भएकाले सो अभियान जनतामाझ निकै लोकप्रिय समेत बनेको थियो । जसको परिणामस्वरुप जनयुद्ध पनि सफल बन्दै गएको थियो ।

तर, जब माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीहरु गाउँ छोडेर शहर पस्न थाले । माओवादीहरु सुविधाभोगी बन्न थाले । जनयुद्धका मुद्धा र अभियानहरु विस्तारै ओझेलमा पर्न थाल्यो । पहिलो संविधानसभा निर्वाचनमा जनयुद्धकै रापतापका कारण माओवादी पहिलो पार्टी बन्यो । तर, त्यसपछि पार्टी फुटका श्रृङ्खालहरु सुरु भयो । जनयुद्धमा एक रहेको माओवादी धार आधा दर्जन माओवादीमा विभाजित बन्यो । जनयुद्धका मुद्धाहरु विस्तारै विस्थापित हुन थाल्यो, फलस्वरुप माओवादी खुम्चदै गयो ।

शान्ति प्रक्रियापछिका चार निर्वाचनमा सहभागी माओवादी पहलो संविधानसभापछि निरन्तर खुम्चदै खुम्चदैं अहिले निक्कै फराकिलो अन्तरमा तेस्रो पार्टिमा आइपुगेको छ । यसको अरु थुप्रै कारण होला, तर एउटा मुख्य कारण जनतामाझ नजानु नै हो । जनयुद्धमा जनताको घरघरमा जनतासँगै खाने, जनतासँगै बस्ने कतिपय माओवादीहरु शान्ति प्रक्रियपछि गाउँ फर्केका छैनन् । निर्वाचनका बेला गाडीमा झण्डा हल्लाउँदै मुख्य सडकमा यात्रा गर्नुबाहेक गाउँवस्तीका जनतामाझ पुग्न नसकेकै कारण माओवादीको क्षयीकरण भएको माओवादीको विश्लेषण छ ।

सोही विश्लेषण अनुसार माओवादीले जनतामाझ जाने निर्णय गरी ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गरेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुख्य नारासाथ अभियान थालनी गरेको छ । अभियानका क्रममा माओवादी नेताहरु अहिले जनताको घरघरमा पुगेका छन् । केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरीय नेताहरु वडा र टोलटोलमा खटिरहेका छन् ।

इलाममा केन्द्रीय सदस्य कुलप्रसाद साँवा कुशलको नेतृत्वमा अन्य केन्द्रीय सदस्यसहित नेताहरु जनताको घरघरमा पुगेका छन् । जनता रुझाउन विभिन्न गतिविधि गर्दै अभियानमा व्यस्त छन् । तीन महिने अभियानमा पार्टीसँग सम्बन्धि र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन गरिरहेका छन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गरिरहेको छ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गरिरहेको छ ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा माओवादीले ८ लाख सदस्यता पुर्याउने र २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ । अभियानमा माओवादी अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार