माङसेबुङ गाउँपालिका-२ मा टोल विकास संस्था गठनको तयारी, १७ वटा टोल हुने

इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ ले वडामा टोल विकास संस्था ग७न गर्ने तयारी गरेको छ । माङसेबुङ गाउँपालिकाको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७७ बमोजिम टोल विकास संस्था गठन गर्न लागेको हो ।

कार्यविधि लागू भएको ३ वर्षपछि सो वडामा पहिलो पटक टोल विकास संस्था गठन हुन लागेको हो । बुधबार वडा कार्यालयको सभालहमा भएको सरोकारवालाहरुको भेलाले १७ वटा टोल विकास संस्था गठन गर्ने गरी टोल विभाजन गरेको छ ।

वडा अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा वडा समिति, राजनीतिक दल एवम् सरोकारवालाहरुको भेलाले वडालाई १७ टोलमा विभाजन गरी टोल विकास संस्था गठन गर्ने निर्णय गरेको हो ।

सो वडामा डाँडागाउँ बरबोटे, सिम्लेबारी रत्नबस्ती पानीटार, वालुङ सातविसे काभ्राबोटे, मालबासँसे जोगीडाँडा लुङ्गपिङ पटेटार, बाटोमुनी नेम्बाङटोल तामाङगाउँ, बाटोमाथि, बाहबल बजार खत्रीटोल लाप्चेटार, स्कूलटोल डाँडाटोल खाल्डे टोल विकास संस्था गठन हुनेछ । त्यस्तै चोक्टेटोल, सिरिसे बेंसीटोल, एवाईटोल जौबारी भोटेडाँडा, सानो पावा, डोलटार चित्रेटोल, बस्नेतटोल गैरीगाउँ, डाँडागाउँ, याङरुपे टेलिटार, दहगाउँ र खाम्नुवा टोल विकास संस्था गठन हुनेछ ।

टोल विकास संस्था गठन र सूचिकृत चाँडै गरिने वडाअध्यक्ष बस्नेतले बताए । स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक सहभालिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिकलगायत विकासमा सबै पक्षमा दीगोपना र अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकको सहभागितामा वडाको सहयोगीको रुपमा काम गर्न टोल विकास संस्था गठन गर्न लागेको हो ।

टोल विकास संस्थाले समुदायमा शान्ति, सुरक्षा र अमन तयन गर्न सहयोग गर्ने, सामुदायिक सद्भाव, सहिष्णुता र भाइचाराको विकास गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरुको तर्जुमा, कार्यान्वयन, सुपरीवेक्षण तथा अनुगमनमा सहयोग गर्नेलगायत २८ वटा काम कर्तव्य र अधिकारहरु कार्यविधिमा उल्लेख छन् ।

यसअघि गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकरुहरुले टोल विकास संस्था गठन गर्न माग गरेका थिए । अन्य सबै वडामा यसअघि नै टोल विकास संस्था गठन भई क्रियाशील छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार