माङसेबुङ गाउँपालिका ४ र ५ मा निस्सा वितरण स्थगित

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई  वितरण सुरु गरेको निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण वडा नम्बर ४ मा ५ मा स्थगित गरेको छ ।

माङसबेुङ गाउँपालिकाले बुधबार एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि विविध कारणले निस्सा वितरण स्थगन भएको जानकारी गराएको छ । बिहीबार वडा नम्बर ५ मा र शुक्रबार वडा नम्बर ४ मा निस्सा वितरणको तयारी गरेको थियो । यसअघि मंगलबार वडा नम्बर ६ मा र बुधबार वडा नम्बर मा निस्सा वितरण सुरु गरेको छ । अन्य वडाका लागि भने निर्धारित समयमा नै निस्सा वितरण हुनेछ ।

माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् ।

भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा ३ हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रणालीमा प्रविष्ठ गरिरहेको जनाएको छ । लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार