पोखरा : पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् ।
शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए ।
गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपटि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले बयान दिएका थिए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमाना तमादीखोला खहरे बनेर दुर्लुङको डाँडा हुँदै कतिबेला बाढी झर्छ भन्ने पत्तै नहुने र अघिल्ला वर्षहरुमा पनि घटना घटेको डिएसपी भुसालको भनाइ छ ।
-अनलाइन खबरबाट