इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले इलामको माङसेबुङ गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदान सरसफाईमा श्रमदान गरेको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारासाथ गत २६ भदौदेखि जारी तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र माङसेबुङ-५ वडा समितिले शुक्रबार सरस्वती माविको खेलमैदान सरसफाईमा श्रमदान गरेको हो ।
सरसफाईको क्रममा माओवादीहरुले खेलमैदानमा रेहेका खाल्डाखुल्डी सम्याउनुका साथै मैदान सरसफाई गरेका थिए ।
माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’को क्रममा भदौ १६ गतेदेखि गाउँगाउँ पुगेका छन् । पार्टीका आन्तरिक बैठक सकेर जनश्रमदान, सामाजिक कार्य, भेला बैठक, अन्तरक्रियासहित जनस्तरमा पुगेर पार्टीप्रतिका गुनासा र अपेक्षा लिने काम गरिरहेका छन् । अभियान १५ मंसिरसम्म संचालन हुनेछ ।