दमक हस्पिटलमा आर्थिक अनियमितता, भुसाल र गैरेविरुद्ध प्रशासनमा सामूहिक उजुरी

झापा : मुलुकका विभिन्न ठाउँमा रकम ठगीका घटना बाहिर आइरहेको बेला झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा आर्थिक अनियमितता भएको छ । अनियमितताबारे जिल्ला प्रशासन कार्यालय झापामा दुई जना सञ्चालकविरुद्ध ठगी सम्बन्धी उजुरी परेको छ ।

अर्घाखाँची स्थायी ठेगाना भएका प्रालिका अध्यक्ष डा. निराजन भुसाल र सञ्चालक डा.चन्द्रप्रकाश गैरेले कम्पनीको बैंक खातामा रहेको रकम अनियमित तवरले झिकेर अपचलन गरेको जनाउँदै अन्य सञ्चालक तथा लगानीकर्ताले प्रमुख जिल्ला अधिकारीसमक्ष आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।

उनीहरुले दिएको उजुरीमा भुसाल र गैरेले विभिन्न व्यक्तिका नाममा कम्पनीको बैंक खाताबाट रकम निकालेर अपचलन गरेको दाबी गरेका छन । सञ्चालक सदस्य मोतिलाल बरालसहित नौ जनाले दिएको सामूहिक उजुरीमा आरोपितद्वयले तीन करोड ४१ लाख रुपैयाँ अपचलन गरेको उल्लेख छ ।

दमक ८ नम्बर वडा कार्यालयले बनाएको हस्पिटल विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई दिएको उक्त उजुरी जिल्ला प्रशासन कार्यालयमा मंगलबार दर्ता भएको हो । उजुरीमा विभिन्न व्यक्तिको सहमति बिनानै उनीहरुको नाममा पटक पटक बैंकबाट रकम झिकेको प्रमाण समेत संलग्न गरिएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेलाई दबाबमा राखेर गैरे र भुसालले त्यस किसिमको अनियमित क्रियाकलाप गरी ठगी धन्दा चलाएको पीडितहरुको उजुरीमा उल्लेख छ ।

कम्पनी नियम विपरित निजहरुले अन्य सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिती र बैठक बिनानै एक्लौटी रुपमा गत भदौ ६ गते  आफना नाममा मात्रै शेयर कायम गरेको देखिएकाले किर्ते तथा जालसाजी समेत गरेको आरोपितहरुको ठहर छ ।

यसअघि उक्त संस्थामा भएको समस्यालाई लिएर निवेदन परेपछि विवाद समाधानका लागि दमकको ८ नम्बर वडा कार्यालयले पनि विवाद समाधान समिति बनाएको थियो । समितिले तयार पारेको प्रतिवेदन समेत वडा कार्यालयमा बुझाइएको छ ।

आरोपित भुसाल र गैरे दुवै जनाको स्थायी ठेगाना अर्घाखाँची हो । तीमध्ये गैरेले दमकमा ऊँ शान्ति डेण्टल सञ्चालन गर्दै आएका छन् भने भुसाल अन्यत्रै बस्ने गरेका छन् ।

गैरेले स्वास्थ्य निकायको उपल्लो तहसम्म आफनो पहुँच रहेको बताउँदै स्वास्थ्य क्षेत्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कतिपय राजनीतिक, सामाजिक अगुवाहरुलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गरेको र लगानी रकम आफूले अपचलन गर्ने गरेको बताइएको छ । लगानीकर्ता चिकित्सकहरुले आफूले लगानीको हर हिसाब मागेर पारदर्शी कारोबार गर्न माग गर्दा उल्टै धम्क्याउने गरेको पीडितहरुको भनाई छ । उनले कम्पनीमा लगानी गर्न भन्दै यहाँका प्रतिष्ठित डाक्टर तथा स्वास्थ्य क्षेत्रका मानिसहरुसँग लाखौं रुपैयाँ लिएर शेयर कायम नगरि ठगी गर्ने गरेका पनि बताइएको छ ।

उजुरी गर्नेहरुमा बराल, सञ्चालक सदस्य नारायण श्रेष्ठ र हेमराज पोखरेल हुन् भने डा. सञ्जय रिमाल, डा. प्रकाश शर्मा, डा. दिव्या तुलाचन, डा. नवीन ढकाल र सुजन खरेल हस्पिटलका लगानीकर्ता हुन् । लगानीकर्ताहरुको सो समूहलाई गैरेले हस्पिटलमा लगानी गर्न आग्रह गर्दै पटक पटक झण्डै डेढ करोड रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गरेको जिल्ला प्रशासन कार्यालय, झापामा दर्ता भएको उजुरीमा जनाइएको छ ।

कूल ७५ लाख लगानी रहेको अस्पतालमा गैरे थप ७५ लाख रुपैयाँ लगानी गरेर आउन तयार भएपछि तत्कालिन शेयर होल्डरहरुले उनलाई स्वीकारेका थिए ।

-जनआस्थाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार