चुलाचुली : झापाको दमकमा भएको चक्कु प्रहारबाट इलामको चुलाचुली गाउँपालिका-३ पेल्टिमारीका ३८ बर्षीय गोबिन्द लिम्बूको ज्यान गएको छ ।
दमक नगरपालिका-१ कुमाल चौकस्थित रुबल माछा फ्राई होटलमा शुक्रबार बिहान ३ बजे भएको साथी-साथीको झगडामा छुट्याउने क्रममा लिम्बूको घाँटीमा गहिरो चक्कु प्रहार भएको थियो ।
घटनाको सम्बन्धमा अनुसन्धानका लागि होटल सञ्चालकसहित घटनामा संलग्न ६ जनालाई दमक प्रहरीले हिरासतमा लिएको छ भने थपको खोजी क्रम जारी रहेको छ ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का सन्दिप राई, चुलाचुली गाउँपालिका-३ का सुर्य केरुङलगायत रहेको स्थानिय राम प्रसाद राईले जानकारी दिए ।
चक्कु प्रहार गर्ने व्यक्ति दमक नगरपालिका-७ का सनम राई रहेको जानकारी प्राप्त भएको छ । मृतकको पोष्टमार्टम भइ सकेतापनि घटनाको सत्यतथ्य बाहिर नआएसम्म र अपराधीले सजाय नपाएसम्म अन्तिम संस्कार नगर्ने मृतकका परिवारका भनाई छ । मृतकको शब दमक अस्पताल दमकमा पोष्टमार्टम भएको हो ।
बिहिवार राती देखि नै मृतक लिम्बूलगायत लगभग १२ जनाको टोलि मद्यपान सेवनमा थिए । झगडाको बिषय भने अहिलेसम्म पत्ता लागेको छैन । घटनाको तीब्र रुपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।