इलाम : गत ४ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।
संविधानसभा अध्यक्ष तथा इलाम-२ का प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनले उक्त निर्वाचन क्षेत्रका जनता संघीय जनप्रतिनिधिविहीन बनेका छन् । उक्त पदपूर्तिको लागि इलाम–२ मा सरकारले कहिले उपनिर्वाचन गर्छ भन्ने चासो बढेको छ ।
सरकारले उपनिर्वाचनको लागि प्रक्रिया अगाडि बढाइनसके पनि इमाल-२ मा भने चुनावी सरगर्मी सुरु भइसकेको छ । उक्त निर्वाचन क्षेत्रमा एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने विषय चर्चामा रहेको छ ।
नेम्वाङको राजनीतिक विरासत धान्ने राजनीतिक उत्तराधिकारीको खोजी एमालेभित्र भइरहेको छ । नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गर्दै सक्रिय राजनीतिमा आउने संकेत गरेका छन् ।
यही चर्चाको क्रममा पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फे इलाम- २ को माङसेबुङ पुगेकी थिइन् । किरात धर्माबलम्बीहरूको आस्थाको केन्द्र माङ्सेबुङको लारुम्बा पुगेर किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग दर्शन भेट गर्ने र आफ्नो तयारीबारे कुराकानी गर्ने तुम्बाहाम्फेको तयारी थियो । तर, धर्मगुरु लिङ्देनले दर्शन भेट नदिएपछि उनी त्यहाँबाट सुटुक्कै बाहिरिएकी छन् ।
उपनिर्वाचनको चर्चासँगै तुम्बाहाम्फे इलाम- २ पुग्नुलाई उपनिर्वाचनमा उनको उम्मेदवारी पर्न सक्ने अनुमान गरिएको छ ।
कुनै पनि जनप्रतिनिधि रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ ।
– दृष्टि न्युजबाट