इलाम : सोमबार जिल्ला समन्वय समिति इलामको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा बैठक थियो । बैठकका लागि प्रमुख सरोकारालाहरु पालिका प्रमुख एवम् उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला समन्वय समितिले एक साता अघि नै पत्राचार गरेर निमन्त्रण गरेको थियो ।
तर सोमबारको समीक्षा बैठकमा फरक दृश्य देखियो ।
जो सरोकारवालाका लागि अर्थात् जसका लागि बैठक आयोजना गरिएको थियो, उसैको उपस्थिती विना पहिलो दिनको समीक्षा बैठक भयो । कर्मचारीहरुको मात्र उपस्थितीमा औपचारिकताका लागि मात्र समीक्षा बैठक आयोजना गरेको देखियो ।
बैठकमा १० पालिकाका कोहि पनि जनप्रतिनिधि उपस्थिति भएनन् । माईनगरपालिका र सन्दकपुर गाउँपालिकाका प्रमुख प्रसाशकिय मात्र उपस्थिति देखियो ।
सदरमुकाममा रहेको नगरपालिकाका जनप्रतिनिधि समेत उपस्थिति भएनन । इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णुकुमारी लिम्बू पनि अनुपस्थित रहे । दुवै नेपाली कांग्रेसबाट जितेका थिए ।
माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बू र उपप्रमुख हिमा भण्डारी उपस्थित भएनन् । दुवै नेकपा (एमाले) बाट निर्वाचित हन् । माईबाट प्रमुख प्रशासकीय अधिकृत मात्र उपस्थित थिए ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र उप्रमुख दुर्गाकुमार बराल उपस्थित भएनन् । राई नेकपा (एकीकृत समाजवादी) र बराल नेपाली कांग्रेबाट निर्वाचित भएका हुन् । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई र उपाध्यक्ष विनोदकुमार नेम्बाङ दुवै अनुपस्थित रहे । राई एमाले र नेम्बाङ जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।
यता फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र उपाध्याक्ष कल्पना राई पनि अनुपस्थित रहे । दुवै एमालेबाट निर्वाचित भएका हुन् । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ र उपाध्यक्ष हरी लुङ्गेली अनुपस्थित रहे । गुरुङ कांग्रेस र लुङ्गेली एकीकृत समाजवादीबाट निर्वाचित हुन् । सन्दकपुरबाट प्रमुख प्रशासकीय अधिकृत यादब राउत उपस्थित थिए ।
रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष विष्णुमाया खवास अनुपस्थित रहे । स्याङबो कांग्रेस र खवास एमालेबाट निर्वाचित हुन् । माईजोगमाई गाउँपालिकाबाट अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई अनुपस्थित रहे । थेवे एमाले र राई कांग्रेसबाट निर्वाचित भएका हुन् ।
यस्तै चुलाचुली गाउँपालिका बाट समेत अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिल कुमारी लिम्बू पनि अनुपस्थित रहे । अध्यक्ष नेपाली कांग्रेस बाट निर्बाचित हुन भने उपाध्यक्ष नेकपा एमाले बाट हुन ।
सोमबार जिल्ला स्थिति केही कार्यालय र केही पालिकालाले गत वर्षको प्रगति विवरण प्रस्तुत गरका थिए । कार्यक्रम सहभागी नेपाली कांग्रेसका जिल्ला सचीव पुर्ण प्रसाद गौतमले जिल्लाको समग्र विकासका लागि एकआपसमा सिकाई आदानप्रदान गर्ने कार्यक्रममा पालिका प्रमुख उपस्थित नुहुनुले राम्रो सन्देश नदिने बताए । यस्तै नेकपा माओवादीका प्रदेश सदस्य प्रवास शर्मले समिक्षा बैठक औपचारिकता मात्र भएको बताए । उनले जिल्ला समन्य समितिलाई अधिकार सम्पन्न बनाएर सबै पालिका प्रमुखको उपस्थितिमा मात्र कार्यक्रम संचालक हुनुपर्ने बताए ।
यता जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले स्थानीय तहहरुले जिल्ला समीक्षा बैठकलाई महत्व नदिएको बताए । बैठकमा जानैपर्दैन भन्ने मनसायले स्थानीय तहहरुले जिससको महत्व घटाएको उनको गुनासो थियो ।
कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराईलीले जिल्लाको समग्र विकासका लागि पर्याप्त समन्व र सहकार्यको आवश्यकता रहेको धारणा राखिन । वार्षिक समीक्षा बैठक बुधबारसम्म चल्नेछ ।