इलाम : संविधान दिवसको अवसरमा विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका तीन जना कैदी बुधबार इलाम काराबारबाट रिहा भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि इलाम कारागारमा रहेका इलामका दुईसहित तीन जना रिहा भएका हुन् ।
कैद माफी गरिएपछि इलामको माईजोगमाई गाउँपालिका–४ का भीमबहादुर खवास, माईजोगमाई गाउँपालिका–२ का चने चनबहादुर भन्ने बलबहादुर थामी र ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का टेकेन्द्र शिवा रिहा भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
खवास सवारी ज्यान, सवारी अङ्गभङ, शिवा सवारी ज्यान र थामी ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्धामा कैद भुक्तान गरिरहेका थिए । बुधबार संविधान दिवसको अवसरमा देशभरका ६ सय ७० जना कैदीले कैद सजाय माफी मिनाहा पाएका छन् ।