इलाम : संविधान दिवसको अवसरमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना कैदी बन्दी इलाम काराबारबाट रिहा हुने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि इलाम कारागारमा रहेका ५० प्रतिशत कैद भुक्तान गरेका इलामका २ सहित ३ जना रिहा हुने भएका हुन् ।
रिहा हुनेहरुमा माईजोगमाई गाउँपालिका-४, इलामका भीमबहादुर खवास, माईजोगमाई गाउँपालिका-२ इलामका चने चनबहादुर भन्ने बलबहादुर थामी र पाथीभरा याङवरक गाउँपालिका-१ ताप्लेजुङका टेकेन्द्र शिवा रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
खवास सवारी ज्यान, सवारी अङ्गभङ्ग, शिवा सवारी ज्यान र थामी ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्धामा कैद भुक्तान गरिरहेका थिए ।
संविधान दिवसका अवसरमा देशभरका ६ सय ७० जना कैदीले कैद सजाय माफी मिनाहा पाएका छन् ।