आज हरितालिका पर्व, पशुपतिनाथमा पुरुष दर्शनार्थीलाई प्रवेश रोक

  नयाँ बुलन्द
119 Shares

इलाम : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्राडा देवमणि भट्टराई बताउछन् ।

हरितालिका पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तिजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

कोषले सोमबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार