‘सन्दकपुर घोषणापत्र २०८०’ सार्वजनिक गर्दै सकियो मिडिया सम्मेलन

  नयाँ बुलन्द
133 Shares

इलाम : प्रेस सेन्टर नेपालले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलन शनिबार सम्पन्न भएको छ । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिका ३, देउराली बजारमा शुक्रबारदखि आयोजित सम्मेलन ‘सन्दकपुर घोषणा पत्र २०८०’ सार्वजनिक गर्दै सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालमा आबद्ध १४ जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रशिक्षक सञ्जिव न्यौपानेले डिजिटल प्लेटफर्ममा विश्वले कसरी फड्को मारिरहेको छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । आधुनिक पाठकले लामो र पट्यारलाग्दो कन्टेन्टमा इच्छा नदेखाउने हुँदा बिषयवस्तुलाई सटिक प्रस्तुत गर्नुपर्ने बताए । त्यस्तै सञ्चारकर्मी नरेश ज्ञवालीले नयाँ मिडियाको प्रयोग र चुनौतीको बिषयमा प्रशिक्षण दिएका दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कसरी शोषणमा परिरहेका छन् भन्ने केहि दृष्टान्तसमेत उनले प्रस्तुत गरेका थिए । नयाँ मिडियाको प्रयोगका कारण गोपनीयता खतरामा पर्दै गएको उनले बताए ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले संघीयताको मर्म र मिडियाको भूमिकाको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले मुलुकको विकासमा आमसञ्चार क्षेत्रको अत्यन्तै ठूलो भूमिका हुने बताउँदै संयमित भएर काम गर्न आग्रह गरे । उनले आमसञ्चार क्षेत्रले पनि रिभ्यु गर्ने समय आएको बताए ।

प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाई, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइली, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङगेली, अध्यक्ष तुलाराम गुरुङ, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ् (मिक्सो), प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हेर्नुहोस घोषणापत्र

प्रेस सेन्टर नेपाल
प्रदेशस्तरीय मिडिया सम्मेलन
२०८० भदौ २९ र ३० सन्दकपुर-३, देउराली इलाम
‘सन्दकपुर घोषणापत्र-२०८०’

१. स्थानीय सञ्चारमाध्यम र पत्रकारहरुको संरक्षण, प्रवर्द्धनविना संघीयता बलियो हुँदैन । त्यसैले स्थानीय पत्रकारिताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग यो सम्मेलन माग गर्दछ ।
२. स्थानीय तहको विकासका लागि अन्तरपालिका सम्बन्ध जति मजबुत हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । जसले गर्दा स्थानीय पर्वाधार, पर्यटन, भाषा, संस्कृतिसहितको मानवीय विकासको अपेक्षाकृत प्रचारप्रसार हुन पाईरहेको छैन । त्यसैले स्थानीय पत्रकारिताको विकास र प्रवर्द्धनका लागि आवश्यक ठोस नीति र कार्यक्रमसहित बजेट विनियोजन गर्न यो सम्मेलन माग गर्दछ ।
३. स्थानीय तहमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै अनुभव आदानप्रदानसहितको अन्तरक्रिया आयोजना गरी अध्ययन, अनुसन्धानमा आधारित आफ्नै मिडिया नीति बनाउन प्रदेशभरीका सबै स्थानीय सरकारहरुसँग यो सम्मेलन आग्रह गर्दछ ।
४. स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमहरुको पहिलो अधिकार हो । त्यसैले अधिकारको प्रथम दावेदारहरुलाई विशेष प्राथमिकता दिएर विज्ञापन उपलब्ध गराउन यो सम्मेलन माग गर्दछ ।
५. दक्ष ज्ञान र सीपसहितको पत्रकारिता आजको आवश्यकता हो । त्यसैले स्थानीय तहका पत्रकारहरुलाई पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन र तालिमका लागि छात्रवृत्ति एवम् क्रियाशील पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्न यो सम्मेलन माग गर्दछ ।
६. स्थानीय पत्रकारितामा दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत समुदायलाई स्थानीय पत्रकारिताको मूलधारमा ल्याउन सके मात्र संघीयतामा ग्रामीण पत्रकारिताको दीगो प्रवर्द्धन हुन सक्छ । अत : पछाडि पारिएका वर्ग र समुदायलाई मूलधारमा ल्याउन यो सम्मेलन जोड दिन्छ ।
७. ग्रामीण पत्रकारिता जटिल मात्र छैन, चुनौतीपूर्ण पनि छ । त्यसैले ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरुलाई सकरात्मक विभेदका आधारमा पारिश्रमिक प्रदान गर्न, आवश्यक उपकरणहरु उपलब्ध गराउन र उनीहरुको पेशागत सुरक्षामा विशेष प्राथमिकता दिन सम्मेलन माग गर्दछ ।
८. देशमा संघीयता कार्यान्वयनमा आएको दोस्रो कार्यकाल सुरु भईसक्दासम्म प्रदेश र स्थानीय तहमा आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनका संरचना निर्माण हुन सकेका छैनन् । त्यसैले संघीयता कार्यान्वयन सफल बनाउन आवश्यक आवश्यक पूर्वाधार विकास गर्न तीनै तहका सरकारसँग सम्मेलन माग गर्दछ ।
९. ग्रामीण पत्रकारिता गर्ने संचारमाध्यम र पत्रकारहरुलाई आवश्यक टेलिफोन र इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराउन सम्मेलन माग गर्दछ ।
१०. ग्रामीण क्षेत्रमा संचालित संचारमाध्यमहरुको दर्ता र नविकरण शुल्क मिनाहा गर्न सम्मेलन माग गर्दछ ।
११. पुन:नामाकरणको विषयलाई लिएर प्रदेश नं. १ मा पहिचानको आन्दोलन चलिरहेकाले आन्दोलनरत पक्षसँग चाँडो वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकारलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।
१२. देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिका सुन्दर र मनोमोहक भए पनि पूर्वाधार र प्रचारप्रसार अभावका कारण पछाडि पर्न बाध्य छ । त्यसैले विकासका योजनाहरु बनाउँदा सन्दकपुरको पर्यटन विकासलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्न संघ र प्रदेश सरकारसँग यो सम्मेलन माग गर्दछ ।
१३. पर्यटकीय क्षेत्र सन्दकपुरमा पहिलो पटक प्रदेशस्तरीय प्रशिक्षणात्मक मिडिया सम्मेलन आयोजना गरी पर्यटन सम्बन्धी अन्तरक्रिया संचालन गरेकोमा आयोजक प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिलाई सम्मेलनमा सहभागी सबै पत्रकारहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्दछ ।
१४. विकट भए पनि मिडिया सम्मेलन आयोजना गर्न सहयोग गर्ने सन्दकपुर गाउँपालिका परिवार र न्यानो आतिथ्यता प्रदान गर्ने स्थानीय पर्यटन व्यवसायीहरुप्रति सम्मेलन हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै आफ्नो व्यस्त समयका बाबजुत कार्यक्रममा उपस्थित भएर सम्मेलनलाई सफल बनाईदिनुभएकोमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, प्रदेशसभा सदस्यहरु, पार्टी र प्रेस सेन्टरका नेतृत्ववर्गप्रति आयोजक हार्दिक आभार प्रकट गर्दछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार