अस्ताए इलामका नक्षत्र नेम्बाङ, गृहजिल्ला शोकमग्न

  नयाँ बुलन्द
672 Shares

इलाम : सहमति र सहकार्यका सुत्रधार, नेपाली राजनीतिका अग्रणी योद्धा, इलामका एक नक्षत्र सुवासचन्द्र नेम्बाङको गएराती भएको अप्रत्याशित निधनले गृहजिल्ला इलाम शोकमग्न भएको छ ।

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्बाङको निधनले इलाम शोकमग्न भएको हो । नेम्बाङको गएराती ७१ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो ।

२०५६ सालदेखि निरन्तर इलाम-२ बाट निर्वाचन जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक-पटक मन्त्री र संसदीय समितिको सभापति समेत बनेका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ । नेम्बाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरेका छन् । नेम्बाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको प्रतिक्रिया छ ।

गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेम्बाङले संविधान निर्माणमा महत्वपूणर् योगदान गरेको स्मरण गरे । खनालले आफ्ना सहपाठीसमेत रहेका नेम्बाङको निधनले क्षति पुगेको बताए ।

इलाम-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महेश बस्नेतले नेम्बाङले इलामको एक असल अभिभावक गुमाएको प्रतिक्रिया दिए । गएको निर्वाचनमा नेम्बाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले नेम्बाङलाई इलामले सधैँ सम्झिरहने बताए ।

इलाम-२(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर रानामगरले नेम्बाङको निधनले सिङ्गो देशलाई क्षति भएको बताए । नेकपा (माओवादी केन्द्र) का नेता धिरेन शर्मा रमणले नेम्बाङको निधनले वाम आन्दोलनमा क्षति पुगेको बताए । एकीकृत समाजवादी इलाम अध्यक्ष भक्त केसीले देशले एक होनहार कम्युनिष्ट नेता गुमाएको बताए ।

नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाले मंगलबार एक दिनका लागि शोक बिदा समेत दियो ।

इलाम बजार नजिकै सुन्तलाबारीमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २८ फागुन २००९ मा जन्मिएका नेम्बाङको बाल्यकाल इलाममै बित्यो । बाबु अदालतको न्यायाधीश भएकाले नेम्बाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए । इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा आवद्ध हुँदै २०२९ सालमा कम्युनिष्ट राजनीतिमा लागेका नेम्बाङ २०३३ मा राजद्रोह मुद्धामा केही समय जेल समेत परे ।

२०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य भएका नेम्बाङ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

एउटै क्षेत्रबाट लगातार पाँचौं पटक निर्वाचित

नेम्बाङ इलाम-२ बाट संसदीय चुनावी यात्रामा लगातार पाँचौं पटक निर्वाचित भएका थिए । २०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आए ।

२०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनेका थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गर्दै दुवै पटक संविधानसभा अध्यक्ष बनेका थिए । संविधानसभाबाट संविधान निर्माण गर्न महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए । त्यसैगरी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई १०४ मतको झिनो अन्तरले पराजित गर्दै पाँचौ पटक निर्वाचित भएका नेम्बाङ एमाले संसदीय दलका उपनेता बने ।

राष्ट्रपतिको निर्वाचनमा भने कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएपछि नेपालीमा राजनीतिमा केही ओझेल परेका थिए ।

पहिचानको विषयमा सधैं आलोचित

नेम्बाङ २०७२ को संविधान बन्नअघि धर्म निरपेक्षताको सवालमा खुलेर कुरा गर्न नसक्ने नेताको रुपमा परिचित थिए । तर, चुनाव आउन लाग्यो भन्नृ(े बित्तिकै किरात धर्मगुरु आत्मानन्द लिङदेनसमक्ष आशिर्वाद माग्न पुग्ने गरेका थिए ।

गुरु समक्ष किरात धर्मको रक्षाको लागि आफू सदैव तयार रहने शब्द राख्न सक्ने नेम्बाङ अन्ततोगत्वा किरात धर्मावलम्बीकै मतबाट विजय हुँदै आएका थिए । पछिल्लो पटक प्रदेश नामाकरणको सवालमा उनले न त ‘किरात प्रदेश’ भन्न सके न त ‘लिम्बुवान’ नै । पूर्वी क्षेत्रका प्रभावशाली नेता भएर पनि पहिचानको नाममा कुनै शब्द नभन्दा पहिचान जन्य संघसंगठनबाट लखेटिनु समेत परेको थियो ।

एमालेले तत्कालिन प्रदेश १ को नाम ‘कोशी’ राखेर अगाडि बढेको बेला पार्टीभित्र ‘कोशी’ नाम उचित नहोला भन्न समेत सकेनन् । माओवादी केन्द्रले ‘प्रदेशको नाम गल्ती भयो हामी सच्याउँछौं’ भनेर सार्वजनिक माफी माग्यो, कांग्रेसले सच्याउने संकेत दियो । तर एमालेले कुनै चासो राखेन र प्रदेशको नामको विषयमा बहस पनि गरेन । त्यसमा पनि नेम्बाङ धेरै आलोचित थिए ।

पार्टी अध्यक्ष केपी ओलीसँग कार्यकर्ता भेटघाटका लागि पूर्व आएको बेला पहिचानवादीले झापाको बुधबारेमा र इलाम बजारमा ओलीमाथि आक्रमण गरेपछि नेम्बाङले ‘पहिचानको ढङ्गा एमालेका लागि खतरा रहेछ’ भनेर प्रतिक्रिया दिएका थिए ।

नबोलेरै अस्ताए

पूर्वमा पहिचानको मुद्दा पेचिलो बन्दै गएको बेला समेत नेम्बाङ यस विषयमा खुलेर बोल्न सकेनन् र आफ्ना समर्थकलाई केही भन्न पनि सकेनन् । लिम्बुवानी भूभागमा हुर्केर, पढेर राजनेताको रुपमा कहलिए पनि पहिचानवादीलाई सम्बोधन नगर्नुले नेता नेम्बाङलाई पहिचान पक्षधरले पार्टी अध्यक्ष केपी ओलीको मतियार भन्नसम्म पछि हटेनन् ।
थुप्रै आरोप, प्रत्यारोप भोगे नेम्बाङले तर, जवाफ नआउँदा नेम्बाङ ‘गोपी कृष्ण कहो’ भन्ने सुँगा हुन् समेत भने । यतिका आरोप खेपेका नेम्बाङ नबोल्दै सधैंलाई अस्ताए ।

माङसेबुङको विकासमा सधैं आश्वासन

हुन त सबै धर्मप्रति उतिकै आशा र विश्वास राख्ने नेता नेम्बाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने किरात धर्मावलम्बीहरुको पवित्र स्थल माङसेबुङको विकासमा सधैं आश्वासन मात्र दिए ।

त्यस क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी पाएपछि त्यहाँको जनताका लागि धेरै विकासका पोकाहरु बाँड्ने गर्दथ्ये । गएको निर्वाचनमा समेत त्यसरी नै विकासको काममा विश्वास दिलाए । माङहिम परिषर, रिङरोड, दमक-रवि सडक, खानेपानी, बत्ती र सडकका विषयमा काम गर्ने वचन दिएका थिए ।

माङसेबुङको स्वास्थ्य, विद्यालय, बहुमुखी क्याम्पस मात्र होइन, मानव संशाधनका विषयमा बोलेका नेम्बाङका शब्द अपुरो भएपछि उनका समर्थकहरु यतिबेला कुहिरोको काग जस्तो भएका छन् ।

सहमति र सहकार्यका जननी नेम्बाङ केही गरौंला भन्दाभन्दै बितेपछि पूर्वमा एमाले पार्टीभित्र संकट दरार हुने संकेत देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार