इलाम : यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापाले प्राप्त गरेका छन् । दिगो विकास लक्ष्यमा योगदान पुर्याएकाे भन्दै थापालाइ याे अवार्ड प्रदान गरिएको हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।
स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।
हेल्थ अवार्ड किन थापालाई ?
इलाम अस्पताल बिकास समितिको अध्यक्ष भएको समयमा हालका इलाम नगरपालिकाका मेयर केदार थापाकै पहलमा इलाम अस्पतालमा डाइलासिस मेसिन जडान गरेर सञ्चालन गर्न पहल गरेका उनले मेयर बने लगतै डाईलासीस सेवा सुरु गरेका थिए । हाल मेसिन सञ्चालनमा आएपछि त्यसलाई चलाउन आवश्यक पर्ने दक्ष जनशक्ति पनि नगर प्रमुख थापाकै पहलमा ल्याएर सेवा दिइरहेका छन् । यति मात्र नभएर इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरि डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सहज सेवा दिइने कामकाे सुरु गरे ।जस्का कारण अस्पतालमा सेवा लिन आउँने जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सहज भएकाे छ । यि लगायत अन्य थुप्रै काम स्वास्थ्य क्षेत्रमा गरेका कारण थापालाइ याे अवार्ड प्रदान गरिएकाे हाे ।
अवार्ड पाउने अरु काे काे हुन ?
यस्तै अवार्ड पाउनेहरुमा इलाम नगरपालिकाका मेयर केदार थापा सहित हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।
यसैगरी दिगो विकास लक्ष्यमा योगदान गर्नेहरुलाई विशेष सम्मान पनि प्रदान गरिएको छ । विशेष सम्मान पाउनेहरुमा ब्रिटिस राजदूतावास, यूएसएआईडी नेपाल र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय रहेका छन् । यसका साथै नेपाल रेडक्रस सोसाइटी, चुजी फाउन्डेसन, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँण, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर भक्तध्वज बोहरा र गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई सम्मानपत्र प्रदान गरिएको छ।