इलाम : मिडियाबाट प्रकाशसन प्रशारण हुने सामग्रीहरु समावेशी हुन मिडिया नै समावेशी बनाउनुपर्नेमा इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा फोनिज इलामले आयोजना गरेको ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रियाका सहभागीहरुले समावेशी सञ्चारमा जोड दिएका हुन् ।
फोनिज इलामका अध्यक्ष राम योङहाले ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक छलफलपत्र प्रस्तुत गर्दै नेपालका आदिवासी जनजातिहरु राष्ट्रको मूलधारमा समाहित हुन नसक्नु नगराउनु आजको तितो यथार्थ रहेको उल्लेख गरेका छन् ।
उनले आदिवासी जनजातिहरुको पहिचानलाई अक्षुण राख्दै उनीहरुलाई राष्ट्रिय मूलधारमा समाहित पार्दै समावेशी र सहभागितामूलक ढंगले लान सञ्चारकर्मीहरुको दायित्व रहेको उल्लेख गरेका छन् । छलफलपत्रमा अझसम्म आदिवासी जनजातिहरुको अधिकार र पहिचानका सवालहरु मूलधारका राष्ट्रिय सञ्चार माध्यामहरुमा सशक्त ढंगले समाहित हुन नसकेको उल्लेख गरेका छ्न् ।
‘संचारमाध्यमले आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरुको आवाज बोल्न सकिरहेको छैन । आवाज विहीनहरुको आवाज बन्न सकिरहेको छैन‘ योङहाङले छलफलपत्रमा उल्लेख गरेका छ्न्, ‘उनीहरुको आवाज बाहिर आउन सकिरहेको छैन । यसका लागि विभिन्न संचारकर्मी र संचारमाध्यम जिम्मेवार बन्न आवश्यक छ ।‘
छलफलपत्रमा इलामका विभिन्न मिडियाका प्रमुख (स्टेशन म्यानेजर/सम्पादक) को तथ्यांक प्रस्तुत गर्दै योङहाङले अझैपनि मिडियाहरु समावेशी हुन नसकेको उल्लेख गरेका छन् । पछिल्लो समय अनलाइन सञ्चारमाध्यम केही समावेशीता देखिएपनि एफएम रेडियो र छापा पत्रिका समावेशी नरहेको पाइएको छ । मिडिया समावेशी नभएपछि मिडियाबाट प्रकाशन/प्रशारण हुने सामग्री समेत समावेशी नहुने तर्क प्रस्तुत गरेका छन् ।
छलफलपत्रमा इलामका ५ एफएम रेडियो, ५ छापा पत्रिका र १४ अनलाइन पत्रिका गरी २४ वटा मिडियाको प्रमुख (स्टेशन म्यानेजर/सम्पादक) अध्ययन प्रतिवेदन राखिएको छ । जसमध्ये २१ जना पुरुष र ३ जना महिला प्रमुख रहेको पाईएको छ । अपाङ्गता भएका एक जना प्रमुख रहेको पाइएको छ । त्यसैगरी ११ जना आदिवासी जनजाति र १३ जना खसआर्थ प्रमुख रहेको पाइएको छ । दलित प्रमुख रहेको सञ्चारमाध्यम कुनैपनि नरहेको पाइएको छ । दुई अनलाइनमा र एक पत्रिकाको प्रमुख महिला छन् । आदिवासी जनजातिहरु प्रमुख रहेको मिडिया तुलनात्मक रुपमा अनलाइन पत्रिका रहेको पाइएको छ । १४ अनलाइन पत्रिकामध्ये ७ मा आदिवासी जनजाति सम्पादक रहेका छन् । ५ एफएम रेडियोमध्ये एकमा र ५ छापा पत्रिकामध्ये ३ मा आदिवासी जनजाति प्रमुख रहेको पाइएको छ ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले मिडियाले आवाज बिहीनहरुको आवाजलाई प्राथमिकतासाथ स्थान दिनुपर्नेमा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक रहेको उल्लेख गर्दै नगरप्रमुख थापाले सबैको पहिचान र अधिकारका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । थापाले जातीय, भाषिक र सांस्कृतिक विविधता राज्यको सम्पत्ति रहेको उल्लेख गर्दै यसको उचित संरक्षण र सवर्द्धन गर्नु राज्यको दायित्व रहेको उल्लेख गरे । उनले पत्रकारिकताको मूल मर्म र धर्मलाई ध्यानमा राखेर आदिवासी जनजातिहरुको पहिचानको विषयलाई सही तरिकाले उठान गर्न समेत सञ्चारकर्मीलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले समावेशीताको सवालमा राजनीतिक दलका नेतृत्वमा प्रष्टता अवश्यक भएको बताउँदै उनीहरूले नै राज्यका सबै समुदायलाई ‘यो देश मेरो पनि हो’ भन्ने भावनाको विकास गर्न सुझाव व्यक्त गरे । उनले स्थानीय तह पुनर्संरचनाको क्रममा तत्कालिन चितवनको स्थानीय विकास अधिकारीको हैसियतमा चेपाङ जातिको पहिचान खुल्ने गरी एक स्थानीय तहको प्रस्ताव गरेर पठाएपनि मन्त्रालयबाट काटेको दृष्टान्त सुनाउँदै जनताको भावनाप्रति राजनीतिक नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण र सेवा प्रवाहमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निरन्तरताको कामना गरे ।
नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेनले आदिवासी जनजातिको मुद्धामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले सञ्चारकर्ममा सामाजिक सञ्जालले सञ्चारकर्मको धर्मलाई भुल्दै गएकोमा दु:ख समेत व्यक्त गरे ।
फोनिजका पूर्व केन्द्रीय उपाध्यक्ष दिपिन राईले राज्यको मूलधारले आदिवासी जनजातिको विषयलाई बुझेर सम्बोधन गर्न आग्रह गरे । उनले समावेशीताको नाममा आदिवासीको मुद्दालाई पैरवी गर्दै लान सञ्चारकर्मीमा सीप र क्षमता विकासमा समेत जोड दिनुपर्ने बताए । फोनिज प्रदेश १ का सदस्य राजन साङपाङले आदिवासी जनजातिहरुको गहना र सौन्दर्यलाई मात्र मिडियाले स्थान दिने गरेको बताउँदै आदिवासीहरुको सावललाई समेत स्थान दिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले समावेशी सवालको सवालको साथमा वर्गीय मुद्धालाई समेत समेटेर लैजानुपर्नेमा जोड दिए । उनले सबै खालको आवाजलाई समेट्न सकेको खण्डमा मात्रै समावेशीताको सार्थक अर्थ लाग्ने बताए ।
फोनिज इलामका अध्यक्ष योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष याम माबोहाङले र संचालन सहसचिव सृजना श्रेष्ठले स्वागत गरेका थिए ।