इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले ब्यापक नेता कार्यकता परिचालन गरि श्रमदानमा जुटेको छ । ‘घरघरमा माओवादी-जनजनमा माओवादी’ भन्ने मुल नारा सहित सुरु भएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ ३ महिने अभियानकोले २५ लाख जनतासँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश रहेको छ । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए ।
यसै सन्दर्भमा फाकफोकथुम गाउँपालिका बाटो निर्माण, विद्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकी सरसफाइ, प्रशिक्षण एवं पार्टी कार्यालय उद्घाटन गरी अभियानको उद्घाटन गरिएको थियो ।
अभियानको उद्घाटन फाकफोकथुम गाउँपालिका-१ मा भोजबहादुर बोहोरा कमान्डमा चुक्रुम्बादेखि वडा कार्यालयसम्म बाटो मर्मत तथा वडा कार्यालयलाइ बृक्षारोपण, फाकफोकथुम गाउँपालिका-२ मा ओम गुरुङ सौरभको कमान्डमा स्वास्थ्य चौकी सरसफाइ कार्यक्रम, फाकफोकथुम गाउँपालिका-३ मा कमान्ड के.वि. वान्तावा मालिका अधारभुत विद्यालयमा सरसफाइ, फाकफोकथुम गाउँपालिका-४ मा अरुण दर्लामीको कमान्डमा विष्णु माविमा सरसफाइ गरिएको छ ।
फाकफोकथुम गाउँपालिका-५ मा प्रकाश राइको कमान्डमा बाटो सरसफाइ तथा स्वास्थ्य चौकीमा माटो सम्याउनेमा श्रमदान, फाकफोकथुम गाउँपालिका-६ मा प्रकाश परियारको कमान्डमा वडा कार्यालय उद्घाटन, प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम र फाकफोकथुम गाउँपालिका-७ मा केदारनाथ खनालको कमान्डमा दोबानदेखि विताम्बरुङसम्म मोटर बाटो मर्मत सम्भार गरिएको थियो ।
३ महिने अभियानमा जनसम्बन्ध विस्तार तथा भेटघाट, जनयुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नेलाइ भेटेर धन्यवाद, संगठन सुदृढीकरण, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियान, विकास निर्माण एवं सुशासनको पक्षमा जनपरिचालन र जनसेवामा व्यापक परिचालन गर्ने छ ।