इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ इलामको चुलाचुली गाउँपालिकाका सबै वडमा एकसाथ सुरु भएको छ ।
चुलाचुली गाउँपालिका-१, २, ३ र ४ मा कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियान उद्घाटन गरेको छ ।
चुलाचुली गाउँपालिका-५ मा जनश्रमदान गरी अभियान उद्घाटन भएको छ । स्थानीय बुकुवा युवा क्लब भवन प्रङ्गण सरसफाईमा जनश्रमदान गरी माओवादीले अभियान सुरु गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशलको नेतृत्वमा अभियानका वडा कमाण्डर अखिल क्रान्तिकारी इलामका अध्यक्ष नयन वान्तवालगायतको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताहरुले श्रमदान गरेका हुन् ।
त्यसैगरी चुलाचुली गाउँपालिका-६ मा कार्यकर्ता भेटघाट र पार्टी प्रवेश गरी अभियानको सुरु भएको छ । पार्टीका प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज हर्कबहादुर लावती कान्छाको नेतृत्वमा स्थानीय पञ्चवीर विश्वकर्मालाई पार्टी प्रवेश गराएको हो । उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
१५ मंसिरसम्म संचालन हुने तीन महिने अभियानमा पार्टीसँग सम्बन्धित र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन हुनेछन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्नेछ ।
माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ ।