इलामका सबै वडामा केन्द्रिय प्रसारणको बिधुत बिस्तार

इलाम :  पूर्वीनेपालको पहाडी जिल्ला इलामको सबै क्षेत्रमा यसै वर्ष विद्युत् विस्तार हुने भएको छ । दसवटा पालिका रहेको इलाममा ८१ वडा रहेका छन् । यस वर्ष केन्द्रीय प्रसारणको विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले जानकारी दिए ।

‘अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्,’ उनले भने, ‘बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ, अहिले सबै स्थानमा आवश्यक सामग्री पठाइसकिएको छ, केही महिनाभित्रमा इलामेली सबैले केन्द्रीय प्रसारणको बिजुली प्रयोग गर्न पाउनुहुनेछ ।’

जिल्लाभर उज्यालो बनाउने योजना अनुरूप सबै क्षेत्रमा विद्युत् पुर्याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्र बनाइएको प्रमुख यादवको भनाइ छ । उनका अनुसार मुख्य गरी विद्युत् नपुगेका जिल्लाको विकट भूगोल बाझो, साकफारा, लुम्दे क्षेत्रका गाउँपालिका फाकफोकथुम, माङ्सेबुङ र चुलाचुलीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । उक्त क्षेत्रमा विद्युतीकरणका लागि धेरै काम बाँकी नरहेको उनले बताए ।

पहाडी क्षेत्र, त्यसमा पनि कठिन भूगोलका कारण बाटोको समस्याले विद्युत् वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पुर्याउने काम सकिएकाले मिटर जडानको काममात्रै बाँकी रहेको बताइएको छ । ‘नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा जतिसक्दो चाँडो केही महिनाभित्रै विद्युत् पुर्याउन हामी केन्द्रित छौँ,’ प्रमुख यादवले भने, ‘अहिले पनि पालिकाका विभिन्न स्थानमा तार पोल पुर्याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ ।’ अहिले केही स्थानमा लघु जलविद्युत्, सौर्य ऊर्जाबाट विद्युत् प्रयोग भइरहेकोे छ ।

जिल्लाभर एकै स्थानबाट लाइन विस्तार हुँदा लामो दूरीबाट ल्याएको विद्युत्मा विभिन्न समस्या झेल्नुपरिरहेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा निर्माणाधीन सबस्टेसनको कामलाई समेत अहिले अगाडि बडाइएको प्रमुख यादवको भनाइ छ । यो निर्माण सम्पन्न भएपछि जिल्लामा विद्युतीकरणमा थप सहजता मिल्ने उहाँले बताउनुभयो । यस्तै, जिल्लाकै दुई स्थानमा नयाँ विद्युत् सबस्टेसन निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको उनले बताए ।

हाल जिल्लामा इलामको फिक्कल र सदरमुकामको तिलकेनीमा मात्र सबस्टेसन रहेका छन् । यी दुई स्थानबाट जिल्लाभर विद्युत् सञ्चालन भइरहेकाले बेला–बेला बिजुली बन्द हुने समस्या इलामेलीले भोग्नुपरिरहेको समेत उनले बताए । जिल्लाभर पाँच स्थानमा सबस्टेसन निर्माण भएपछि यी सबै समस्याको हल हुने यादवको भनाइ छ ।

जिल्लामा अहिले लघु जलविद्युत्बाट विद्युत् वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पुर्याउने, आवश्यकता अनुसार नयाँ ट्रान्सफर्मर वितरण, तार पोल पुर्याउने, हाल विद्युत् बाँडिएका क्षेत्रमा विद्युत्को  क्षमता बढाउनेलगायतका काम भइरहेको कार्यालयले जनाएको छ । यसले जिल्लाको समग्र विद्युत् वितरणलाई हिउँद बर्खा नै प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।

काठका पोल हट्दै
नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले जिल्लामा प्रयोग भएका सबै काठका बिजुली पोल विस्थापित गर्ने भएको छ । जिल्लाभर विद्युत् लाइन विस्तारका लागि प्रयोग भएका सबै काठेपोल आगामी दुई वर्षसम्ममा विस्थापित गरी स्टिल पोल राखिने भएको हो । इलाम वितरण केन्द्रका केन्द्र प्रमुख बिजली यादवका अनुसार हाल इलाम जिल्लामा प्रयोग भएका काठका करिब साढे ६ हजार काठेपोल विस्थापन गर्न कार्यालयबाट काम भइरहेको बताए । हिमालय टाईम्स पत्रीकामा पत्रकार प्रकाश नेपालले यो समाचार लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार