काठमाडौं : जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार ‘भेप’मार्फत भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुललाई संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो ।
संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।
सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।