पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुने : कार्यवाहक अध्यक्ष श्रेष्ठ

  नयाँ बुलन्द  330 पटक हेरिएको

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताए । उनले आफ्नो पार्टीले परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा बहुलताायुक्त नेपाली समाज सुहाउँदो सिद्धान्त संघीय समाजवाद मात्र अङ्गीकार गरेको नभई लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्त समेत अपनाएको बताए ।

लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकारभित्रका कामहरू आफै निणर्य गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।

का.वा. अध्यक्ष श्रेष्ठले हाल सञ्चालित तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई विधानले तोकेबमोजीमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको बताए । उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथासिघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बतााउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।

पार्टीको गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा संगठन विस्तार तथा सुदृढीकरण कार्ययोजना निर्माणका लागि भएको अगुवा कार्यकर्ता भेलाले एक व्यक्ति एक समितिको वैधानिक व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्य सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षबाट विदा गर्ने समेत निणर्य गरेका थिए ।

त्यसरी नै भेलाले संगठन विस्तार तथा सुदृढीकरण अभियानमा सम्पूणर् केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई पालिका र संघीय निर्वाचन क्षेत्रमा खटाएको छ । खटाइएका प्रतिनिधिहरूले आफूलाई खटाइएको जिल्लाका सम्बन्धित समितिसँग समन्वय गरी परिणाममुखी काम गर्न का. वा. अध्यक्ष श्रेष्ठले निर्देशन दिए ।

विदेशमा प्रयोग भएको समाजवादको नक्कल गर्नु हुँदैन 

यस अघी पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई पनि श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा उनले नेपालमा लामो समयदेखि लोकतान्त्रिक समाजवाद र साम्यवादी समाजवादको दुई धार सक्रिय रहेको सन्दर्भमा नेपाल जस्तो बहुजातीय बहुभाषिक मुलुकमा समाजवादले वर्गीय समस्या हल गरे पनि उत्पीडित राष्ट्रियताहरूको समस्या हल नहुने भएकाले संघीयतालाई पनि समाजवादसँग जोड्नु पर्ने बताए । उनले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद आवश्यक रहेको कुरा हालै गठीत समाजवादी मोर्चा, नेपालले समेत स्विकारेको बताउँदै मोर्चाले पनि आफ्नो गन्तव्य संघीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्रको रूपमा तय गरेको बताए ।

नेता श्रेष्ठले विदेशमा प्रयोग भएको समाजवादको नक्कल गर्न नहुने भन्दै नेपाली विशेषताको समाजवाद माथिबाट लादिएको राजकीय वा जनअधिकार कुण्ठीत गरिएको नोकरशाही समाजवाद नभई जनताको समाजवाद हुनुपर्ने बताए । श्रेष्ठले नेपालमा संघीयता, सुशासन र सामाजिक न्यायसहितको समाजवाद आवश्यक रहेको बताउँदै मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नका लागि नै पार्टीले संघीय समाजवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा ग्रहण गरेको बताए । उनले संघीय समाजवादको चार नीति संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा दुई मुख्य सैद्धान्तिक आधार संघवाद र समाजवाद भएको बताए ।

पार्टीको गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाले उक्त कार्यक्रममा विसु अभियानमा प्रत्येक नेता कार्यकर्ताहरू निष्ठापूर्वक लाग्नुपर्ने कुरामा जोड दिए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५ दर्जन नेता, कार्यकर्ताहरू जसपा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार