तुम्बेवा : सुक्खा क्षेत्र पाँचथरको तुम्बेवा गाउँपालिकाको तीर्खा मेट्न निर्माण सुरु गरिएको तमोर लिफ्टिङ खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको छ । तमोर नदीमा आएको बाढीले आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजनामा क्षति पुयाएपछि काकाकुल तुम्बेवाको तीर्खा मेट्ने धोको अझै लामो समय अधुरै हुने भएको छ ।

विभिन्न कारण देखाउँदै समयमा निर्माण सम्पन्न गर्न नसकेको उक्त आयोजना पछिल्लो केही महिनायता परीक्षणकालमा थियो । अन्तिम अवस्थामा बाढीले क्षति पुर्याएपछि स्थानीय निराश छन् । ‘आयोजनाको अन्तिम चरणमा थियो । शुद्ध पिउनेपानी त आउन सकेको थिएन । तर, परीक्षणका लागि भनेर केही घरमा पानी झारिएको थियो,’ तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले भने, ‘बाढीले खानेपानी आयोजनामा क्षति पुगेपछि खानेपानीको आशामा बसेका तल्लो क्षेत्रका जनता निराश भएका छन् । अब पानी आउने हो कि नआउने हो निश्चित पनि छैन । आउँदा पनि पानी फोहोर आएको थियो ।’
मनसुनको सुरुवातमै पूर्वी पहाडी जिल्लामा आएको वर्षाका कारण तमोर नदीमा बाढी आउँदा आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजनाको इनार, पाइप तथा पम्पलगायत सामग्रीमा बगाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इन्जिनियर रूपक पराजुलीले जानकारी दिए । जसका कारण ४५ लाखमाथि क्षति भएको उनले बताए । ‘४५ लाख क्षति प्रारम्भिक अनुमान मात्र हो । समवेलमा तमोर नदी कुदिरहेको छ । त्यहाँ गएर के–के क्षति भयो हेर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्छ । प्रारम्भिक विवरण हामीले मन्त्रालयमा पठाइसकेका छौँ ।’
मुहानमा कुद्यो नदी
विगतमा तम्मोर नदीको दुई सय मिटर टाडा बनाइएको मुहानमा अहिले नदी कुदिरहेको छ । जसका कारण उपभोक्तालाई तत्काल पानी खुवाउन सक्ने अवस्था नरहेको छैन । नदी घटेपछि मात्र निर्माण गर्न सकिने इन्जिनियर पराजुलीको भनाइ छ । यद्यपि, यसमा सरकारले नै हेर्नुपर्ने उनले बताए ।
‘परीक्षणकालको समयमै बाढीले ठूलो क्षति पुर्यायो । तमोरको पानी तुम्बेवा पुर्याएर खानयोग्य बनाउने गरी निर्माण कम्पनीले शुद्धीकरणको काम गरिरहेको थियो । अब तत्काल पानी मौवासम्म लैजाने कुनै विकल्प रहेन । तमोरमा पानीभन्दा धेरै लेदो छ,’ उनले भने, ‘यो राज्यले नै बनाउनुपर्छ । संरचना भत्काउने र बगाउने नै भयो । निर्माण कम्पनीको दायित्वभन्दा बाहिर गयो ।’
हतारमा उद्घाटन
यो आयोजनाको काम नै नसकी गत वर्ष हतारमा उद्घाटन गरिएको थियो । उद्घाटनको एक वर्षपछि मात्र पानी तुम्बेवासम्म ल्याएर परीक्षण गरिएको थियो । यद्यपि, परीक्षणको क्रममा आयोजनाको पानी खानयोग्य आएको थिएन । काम नै नसकी ७ चैत ०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा आयोजनाको उद्घाटन गरेका थिए । उनले स्थानीय तहको निर्वाचन आउने समयमा चुनावी एजेन्डाका लागि कामै नसकी हतारमा उद्घाटन गरेका थिए । तर, उद्घाटनको १५ महिना बितिसक्दा पनि यहाँका नागरिकले तमोर लिफ्टिङको खानेपानी खान पाएका छैनन् । अहिले त बाढीले त्यो सम्भावना पनि टारिदिएको छ ।
तुम्बेवामा बर्सेनि बसाइँ सर्ने बढिरहेका छन् । बसाइँ सर्नुको मुख्य कारण खानेपानीको अभाव नै हो । पछिल्लो समय तमोर लिफ्टिङ आयोजनाको पानी आउने आशामा रहेकाहरू बाढीसँगै संरचना बगाउँदा निराश बनाएको छ । आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले अब काम सुरु गर्न झन्डै पुस–माघसम्म पर्खनुपर्ने बताए । ठूलो क्षति भएको छ । नयाँ पत्रीका
























































