इलाम : इलाम सदरमुकामस्थित माँ दुर्गा एग्रीकल्चर एण्ड सप्लायर्सका व्यवसायी दिनेश महतले जिल्ला प्रशासन कार्यालयले अनुगमनका नाममा व्यवसायीमाथि ज्याददी गरेको गुनासो गरेका छन् ।
शनिबार इलाम सदरमुकाममा पत्रकार सम्मलेन गर्दै व्यवसायी महतले प्रशासनको कार्यशैलीले युवाहरुलाई व्यवसायबाट पलायन बनाउन बाध्य बनाउन थालेको बताए । व्यवसायी महतले व्यवसाय गरिरहेका युवालाई हतोत्साहित गर्ने उदेश्यले अनुगमन गर्ने गरिएको र जरिवाना गराउने गरिएको गुनासो गरे ।
बिना अनुमती अनुदानको मल बेचेको भन्दै जिल्ला प्रशासन कार्यालयले जरिवाना गराएपछि व्यवसायी महतले त्यस्तो गुनासो गरेका हुन् । व्यवसायी महतले सच्चिने मौका समेत नदिई आफुमाथि प्रशासनले अन्याय गरेको उनको दुखेसो छ ।
सहकारी संस्थाले मल बेच्न दिएको भएर मात्र आफुले मल बेचेको उनको भनाई छ । ‘मलाई समृद्धि सहकारीले निर्णयनै गरेर मल बिक्रीको अनुमति दिएको र सरकारी दर रेटभन्दा फरक नगरी बिक्रि गरिरहेको थिए’ महतले पत्रकारहरुसँग भने ‘अनुगमन टोलिले एक्कासी छापामार शैलीमा आएर जरिवाना गराए ।’
अनुगमनटोलिले आफूसँग भएको कागजात नहेरी ठाडो रुपमा दुई लाख जरिवाना गरेको भन्दै व्यवसाय गर्दा भएका साना तिना कमजोरीलाई सुधार्ने मौका समेत नदिई कार्वाहीमा ल्याउँदा व्यवसायलाई मार पर्ने गरेको बताए ।
‘व्यवसाय गर्दा साना तिना कमजोरी हुन्छन, भए होलान् तर व्यवसायी सँग भएका कागजात र उनीहरुको आवाज पनि नसुनी जरिवाना गरियो’ उनले भने ‘मल भनेको किसानकै लागि बेच्ने हो । अनुमति दिएरै बेच्दा पनि जरिवाना हुन्छ भने कसरी व्यवसायमा कसरी टिक्ने? यसले त युवालाई विदेश पलायन गर्ने सरकारकै योजना देखिएको छ ।’
उनले माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्स दर्ता प्रक्रिया पुरा गरेरै व्यवसाय सञ्चालन भएको पसल रहेको र करदाता सेवा कार्यालयमा दर्ता हुँदा व्यवसायका कारोवारहरुमा ‘मल तथा रसायनका उत्पादनको थोक बिक्रि, कृषि उपज जस्तै : अन्न अन्नपात गेडागुडी र विउ विजनको थोक विक्रि, पाल्तु जनावारको दानाको खुद्रा विक्रि कृषि जन्य यन्त्र, उपकरण तथा यस सम्बन्धी आपुर्तिका सामग्रीहरुको थोक विक्री’ उल्लेख भएको बताए ।
यसरी दर्ता प्रक्रिया पूरा भएर सञ्चालनमा रहेको पसल र सहकारीको निर्णय अनुसार सहकारीले तोकेकै रेटमा मल बिक्री गर्दापनि ठाडो रुपमा व्यवसायीका कागजात नै नहेरी जरिवाना गर्नुले व्यवसायलाई आतंकित बनाउने काम मात्रै भएको गुनासो गरे ।
गत ३० साउनमा अनुगमन टोलिले किसानलाई अनुदानमा आएको मल बिक्रि गरेको भन्दै ३ भदौमा दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो । अनुगमनले अनुदानका लागि आएको मल अनुमति नभएको ठाउँबाट बिक्रि भएको पाएपछि मल नियन्त्रणमा लिनका साथै जरिवाना गराएको थियो ।
इलाम बजार नजिकै धोबिधारामा रहेको समृद्धि कृषि सहकारीले कोटामा पाएको मल व्यवसायी महतले बिक्रि गरेका थिए । अनुगमन टोलिले कुनै वैधानिक कागजात, बिक्री इजाजत पत्र, खरिद तथा बिक्री बिल समेत नरहेको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम दुई लाख जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोईरालाले बताएका थिए ।