जनयुद्धकै अभियान लिएर जनताको घरघरमा जाँदै माओवादी

  राम योङहाङ  186 पटक हेरिएको

इलाम : नेपाली इतिहासलाई हल्लाउने गरी तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध थालनी भएको २८ वर्ष पुरा भएको छ । तत्कालिन राज्य सत्तालाई परास्त गर्न २०५२ फागुन १ देखि जनयुद्धमा होमिएको माओवादी अन्नतः जनसत्ताबाट जनताको परिवर्तन गर्न केही सफल पनि भयो । माओवादीले युद्धको शंखघोषसँगै उठाएका अक्सर मुद्धाहरु संस्थागत पनि भए ।

माओवादीले जनयुद्ध सुरु गरेको २८ वर्ष पुगेको छ भने विस्तृत शान्ति सम्झौतासँगै देशले शान्ति पाएको १७ वर्ष पुगेको छ । १७ वर्षदेखि माओवादी केन्द्र सत्ताकै वरीपरि छ ।

जनजिविका मुद्धा, समाजमा देखिएका असमानताको खाडल, निरंकुश शासन प्रणाली अन्त्यको मुद्दा उठाएर माओवादी केन्द्र २०५२ साल फागुन १ गते जनयुद्धमा होमिएको थियो । १० वर्ष ९ महिना १ दिन सशस्त्र युद्ध मोर्चामा रहयो । समाजमा व्याप्त रहेको बेथितिविरुद्ध तत्कालिन अवस्थामा संसदीय प्रणालीबाट देशमा समस्या समाधान गर्न नसक्ने ठहर गर्दै माओवादी जनयुद्धमा होमिएको थियो ।

जनयुद्धका क्रममा माओवादीहरु जनताकै घरमा जनतासँगै रहने गर्दथे । जनताकै घरमा सेल्टर बनाएर युद्धको अभ्यास गर्दथे । माओवादी जनताको हरेक समस्यामा सारथि बन्ने गर्दथे । समाजमा व्याप्त जातीय, वर्गीय, लैंगिक एवम् भाषिक विभेदको अन्त्य एवम् भ्रष्टाचार र बेथितिविरुद्ध विशेष अभियानमा संचालन गर्दथे । यस्ता अभियानहरुमा उत्पीडित एवम् भुँइमान्छेहरुको साथ र समर्थन राम्रै थियो । सबैजसो अभियानमा जनताको साथ र सहयोग राम्रै हुने गर्दथ्यो ।

जनयुद्धमा माओवादीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने थुप्रै अभियान संचालन गरेर जनतासँगै रम्ने गदर्थ्यो । थुप्रै अभियानमध्ये एउटा प्रमुख अभियान थियो ‘जनश्रमदान’ । माओवादीले गाउँगाउँमा श्रमशिविर अभियान संचालन गरेको थियो । जनताकै साथ लिएर नियमजस्तै बनाएर मासिक रुपमा श्रमदान गर्ने बानीको विकास गरेका थिए । माओवादीका नेताकै नेतृत्वमा श्रमदान हुने गर्दथ्यो । कतिपय श्रमदानमा जनमुक्ति सेनाको समेत सहभागिता रहने गर्दथ्यो ।

माओवादी नेताकै नेतृत्वमा हुने श्रमदानमा जनता पनि उत्साहित भएरै श्रमदानमा सहभागी हुने गर्दे । गाउँघरको विकास निर्माणसँग समेत जोडिने भएकाले सो अभियान जनतामाझ निकै लोकप्रिय समेत बनेको थियो । जसको परिणामस्वरुप जनयुद्ध पनि सफल बन्दै गएको थियो ।

तर, जब माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीहरु गाउँ छोडेर शहर पस्न थाले । माओवादीहरु सुविधाभोगी बन्न थाले । जनयुद्धका मुद्धा र अभियानहरु विस्तारै ओझेलमा पर्न थाल्यो । पहिलो संविधानसभा निर्वाचनमा जनयुद्धकै रापतापका कारण माओवादी पहिलो पार्टी बन्यो । तर, त्यसपछि पार्टी फुटका श्रृङ्खालहरु सुरु भयो । जनयुद्धमा एक रहेको माओवादी धार आधा दर्जन माओवादीमा विभाजित बन्यो । जनयुद्धका मुद्धाहरु विस्तारै विस्थापित हुन थाल्यो, फलस्वरुप माओवादी खुम्चदै गयो ।

शान्ति प्रक्रियापछिका चार निर्वाचनमा सहभागी माओवादी पहलो संविधानसभापछि निरन्तर खुम्चदै खुम्चदैं अहिले निक्कै फराकिलो अन्तरमा तेस्रो पार्टिमा आइपुगेको छ । यसको अरु थुप्रै कारण होला, तर एउटा मुख्य कारण जनतामाझ नजानु नै हो । जनयुद्धमा जनताको घरघरमा जनतासँगै खाने, जनतासँगै बस्ने कतिपय माओवादीहरु शान्ति प्रक्रियपछि गाउँ फर्केका छैनन् । निर्वाचनका बेला गाडीमा झण्डा हल्लाउँदै मुख्य सडकमा यात्रा गर्नुबाहेक गाउँवस्तीका जनतामाझ पुग्न नसकेकै कारण माओवादीको क्षयीकरण भएको माओवादीको विश्लेषण छ ।

सोही विश्लेषण अनुसार माओवादीले जनतामाझ जाने निर्णय गरी ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्दैछ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुख्या नारासाथ आउँदो भदौ १६ गतेदेखि देशैभर एकैसाथ सुरु हुने तीन महिने अभियानको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डिजिटल माध्यमबाट एकसाथ गर्नेछन् ।

तीन महिने अभियानमा पार्टीसँग सम्बन्धि र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन हुनेछन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्नेछ ।

अभियानका क्रममा जनयुद्धकालमा लोकप्रिय अभियान जनश्रमदानलाई समेत विशेष प्राथमिकताका साथ संचालन गरिने माओवादी प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले बताए । उनले श्रमदान अभियानमा जनयुद्धकालमा माओवादीको अभियान रहेको स्मरण गर्दै गरी ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मा यसलाई प्रमुख प्राथमिकतामा राखेर लैजाने बताए ।

‘हामीले जनयुद्धकालमा सुरु गरेको त्यही जनश्रमदान अभियान संचालन गरेर अहिले धरानका मेयर हर्क साङपाङ विश्वमा चर्चित छन् । उनलाई देशभरका जनताबाट सहयोग र समर्थन छ । तर हामीले  हाम्रै अभियान बिर्सियो’ इलाम सदरमुकाममा आयोजित अभियानको अभिमुखीकरणमा अध्यक्ष मिक्सोले भने, ‘अब हामी जनताको घरघरमा जानैपर्छ । उही पुरानो जनयुद्धकालको लोकप्रिय अभियान जनश्रमदान गर्नुपर्छ । जनता आएपनि नआएपनि माओवादी कार्यकर्ताले मात्रै भएपनि नियमित श्रमदानको सुरुवात गर्नुपर्छ । श्रमदान गाउँघरको विकास निर्माणसँग समेत जोडिने भएकाले जनताको साथ विस्तारै पाउन थाल्नेछौं ।’

अध्यक्ष मिक्सोले जनताको घरघरमा गएर माओवादी र माओवादी नेतृत्वको सरकारले गरेका राम्रा काम सुनाउन, अहिलेको भ्रष्टाचार विरुद्धको अभियानबारे जानकारी गराउन, जनताको जनजीविकासँग सम्बन्धित विषयमा भलाकुसारी गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा माओवादीले ८ लाख सदस्यता पुर्याउने र २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ । अभियानमा माओवादी अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन् । अभियानअन्तरगत अध्यक्ष प्रचण्ड सात प्रदेशका ७ वडामा जाने बताए । अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने प्रचण्डले उद्घोष गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार