भ्रष्टाचार विरुद्धको अभियानमा रोकिदैन : माओवादी सचिव बलदेव

  नयाँ बुलन्द
98 Shares

इलाम : नेकपा (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनाल ‘बलदेव’ ले माओवादी नेतृत्वको सरकारले सुरु गरेको भष्ट्रचार विरुद्धको अभियान नरोकिने दाबी गरेका छन् ।

माओवादी केन्द्र इलाम ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’ अभियानको सन्दर्भमा सदरमुकाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले सरकार भ्रष्टाचारको जालो तोड्न लागिपरेको बताउँदै कसैले विरोध गर्दैमा नरोकिने दाबी गरे ।

सरकारको प्राथमिकता भ्रष्टाचार अन्त्य गरी सुशासन र समृद्धि कायम गर्नु रहेको उल्लेख गर्दै त्यो अभियानमा सहयोग गर्नु माओवादी कार्यकर्ताहरुलाई अपिल समेत दिए । ‘माओवादी नेतृत्वको अहिलेको सरकार देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन र समृद्धि कायम गर्न लागिपरेको छ’ पूर्व कृषिमन्त्री समेत रहेका वलदेवले भने, ‘यो अभियानमा जनताको साथ र समर्थन पनि छ । तर सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न सकिरहेका छैनौं । सरकारले गरेका राम्रा कामहरु जनतामाझ पुर्याउन तपाइहामी लाग्नुपर्छ ।’

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टीका नेताहरु भएपनि कारवाही हुनुपर्नेमा जोड दिए ।

सचिव बलदेवले देशको परिवर्तनकारी शक्ति माओवादीले सरकारको भष्ट्रचार विरुद्धको अभियानलाई सहयोग गर्न छुट्टै अभियान चलाउनुपर्ने बताए । देश माओवादीको नीतिमा चलिरहेको दावी गर्दै बलदेवले सुशासन र समृद्धिको यात्रामा माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले अहिलेको सबै परिवर्तन माओवादी जनयुद्धको उपलब्धि रहेको बताउँदै माओवादी बलियो भएमात्रै हालसम्मको उपलब्धिको रक्षा हुने दाबी गरे ।

उनले उपलब्धिको रक्षाका लागि सबै माओवादी धारहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सचिव बलदेवसहित केन्दिय सदस्य एवम् इलाम इञ्चार्ज कुलप्रसाद साँवा ‘कुसल’ प्रदेश कमिटि अध्यक्ष हर्कबहादूर नेम्बाङ ‘मिक्सो’  केन्द्रिय सदस्यहरु हरि राना, लक्ष्मी न्यौपाने, रञ्जित तामाङ, लालबहादूर मगर, केपी बरालले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।

माओवादीले आउँदो १६ भदौदेखि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नाराका साथ ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’  संचालन गर्दैछ । सोही अभियानको अभिमुखीकरणमा नेताहरु इलाम आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार