काठमाडौं: सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘समाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र नियमन गर्नेसम्बन्धी निर्देशिका २०८०’ बनाउने गृहकार्य थालेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सचिव कृष्णबहादुर राउतको विशेष पहलमा सो निर्देशिका बनाउने कार्य थालिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीले जानकारी दिनुभयो ।
मन्त्रालयले प्रवक्ता सुवेदीकै संयोजकत्वमा निर्देशिका मस्यौदा समिति बनाएर काम शुरू गरेको छ । समितिमा सञ्चारसम्बद्ध निकायका विज्ञ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसमेत समावेश छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।