इलाम : बिबादित ह्याप्पी ड्रीम्स प्रालीले पार्क निर्माण पूर्व जिल्ला स्थित ठुलाबढालाई हेलिकोप्टरमा सवार गरिएको पाइएको छ ।
सरकारी जमिन हडपेर निर्माण भएको ह्याप्पी ड्रीम्स प्रालीले पार्क बनाउने क्रममा इलामका तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र डिएफओ इन्द्रमणी भट्टराई लगायतलाई हेलिकोप्टरमा सवार गरेको पाइएको हो ।
तत्कालिन जिल्ला स्थित प्रमुखहरु नै सुरुमा सो पार्क निर्माण हुनु पूर्व हेलिकोप्टरमा चढ्नु र हाल प्रमुख जिल्ला अधिकारी, डिभिजन बन प्रमुख सहित नियमनकारी निकायका प्रमुखहरुले अदालतको आदेश पालना नगर्नुमा आशंका उत्पन्न भएको छ ।
चेप्टीमा हेलिकोप्टर लिएर सरकारी जग्गा उपयोग गर्न बाटो खुल्ला गर्नेमा इलामका तत्कालीन प्रमुख जिल्ला अधिकारी खड्का र डिएफओ भण्डारी लगायत नै रहेका थिए ।

सरकारी निकायकै प्रमुखहरुले अबैध कामको बाटो खुलाइदिएपछि काम अगाडी बढाइएको थियो ।
सरकारी जमिन हडप्नु मात्र हैन सुखानी वन कार्यालयबाट करिव दुइ सय मिटर पर सुखानी वन क्षेत्रमा सडक निर्माण गर्दा डोजर चलेको थियो ।
सालका रुख रहेको घना क्षेत्रमा वन फँडानी गरेको र सरस्वति वन समूहमा वन क्षेत्र अतिक्रमण हुँदा पनि तत्कालिन वन प्रशासनले आँखा चिम्लिएको थियो ।
पछि वनले सुखानी सामुदायिक वन क्षेत्रको अधिकार भन्दै वन समूहमा मुद्धा जिम्मा दिएको थियो ।
चेप्टीमा वन प्रशासनकै प्रतिवेदन, नाप नक्शा अनुसार सार्वजनिक पर्ती एक सय ३२ रोपनी र सामुदायिक वन क्षेत्रको ४५ रोपनी जग्गा अतिक्रमण गरिएको छ ।
माई खोला पुर्व सरस्वति सामुदायिक वन क्षेत्रको मात्र यस बीचमा अतिक्रमणको चर्चा भएपनि यसवाहेक माइ पश्चिम क्षेत्रमा समेत ह्याप्पी ड्रीम्स प्रालीले सरकारी पर्ती जग्गामा पार्क निर्माण गर्न पहल गरेको थियो ।
उक्त प्रालिको हकभोगमा रहेको हाल ४१ रोपनी जग्गा रहेपनि सरकारी जमिनमा पार्क निर्माण गरी व्यापार व्यवसाय गरेको पाइएको छ । प्रशासनले चाहाने हो भने कारबाही गर्न कुनै समस्या छैन ।
अदालतले समेत कारबाहीका लागि बाटो खोलीसकेको छ ।
यस बिषयमा स्थानिय माई नगरपालिका, जिल्ला बन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलामले कदम अघि बढाउन आवश्यक छ ।