काठमाडौं : २९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरी मनाउने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा विश्व आदिवासी दिवसका सन्दर्भमा आयोजना गरिएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिँदै नेफिनका महासचिव दिवश राईले महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको जानकारी दिए ।
यस वर्ष संयुक्त राष्ट्र संघले २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ । नेफिनले नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थासँगको समन्वयमा राष्ट्रिय नारा तय गरेको महासचिव राईले जानकारी दिए ।
महासंघले साउन २४ गते बुधबारका दिन कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा मूल समारोहको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पहिचानको आवाज उठाउने नेपाल सरकारका मन्त्रीहरूको समेत उपस्थिति रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरूको प्रथाजनित मान्यताहरूमाथि विभिन्न व्यक्तिहरूले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेको भन्दै खेद व्यक्त गरे ।
भगवती पाण्डे नामक एक अधिवक्ता महिलाले तामाङ र मगर समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लक्षित गर्दै शेर्पाले मगर र तामाङलाई मात्र नभएर समग्र आदिवासीप्रतिको गलत व्यवहार भएको टिप्पणी गरे ।
राज्यले पनि उनलाई पक्राउ गरेर दण्ड नदिई छाडेको भन्दै अध्यक्ष शेर्पाले यस्ता कुराले डन्डहीनता बढाउने समेत बताए । उनले उक्त आन्दोलनका क्रममा राज्यले आन्दोलनकारी माथि गरेको ज्यादती र दमनको जति निन्दा गरेपनि कम हुने बताए ।
मूल समारोहमा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित साउन २४ गते बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म सांस्कृतिक झाँकी सहितको र्याली हुने महासंघले जनाएको छ ।
भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा हलमा प्रवेश गरी र्याली मूल समारोहमा परिणत हुनेछ ।
यो वर्षको विश्व आदिवासी दिवस भव्य तथा शक्ति प्रदर्शनको हिसाबले मनाइने महासंघले राईले जानकारी दिए ।मूल समारोहमा विभिन्न जातीय संस्थाहरूबाट आ-आफ्नो मौलिक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिने बताइएको छ । त्यस अवसरमा आदिवासी जनजाति आन्दोलनमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने बताइएको छ ।
मूल समारोहका सन्दर्भमा प्रज्ञा भवनको पछाडितिर रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरूको प्रदर्शनी (फुड फेस्टीवल) तथा विक्री वितरण स्टलहरू समेत राखिने बताइएको छ ।
साथै दिवसको सन्दर्भमा महासंघसँग आबद्ध विभिन्न जातीय संस्थाहरू तथा सम्बद्ध संगठनहरूद्वारा विविध कार्यक्रम गरिने छ ।
जसअन्तर्गत साउन १९ गते (आज) तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय कार्यसमितिको आयोजनामा ‘२९ औं विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलनको अवस्थाबारे काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस्तै सुनुवार सेवा समाज, केन्द्रीय कार्यसमितिले पनि शुक्रबार नै आत्मनिर्णयको अधिकार कार्यान्वयनका लागि कोइँच (सुनुवार) युवाको भूमिका विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मगर संघ केन्द्रीय कार्यसमितिले साउन २० गते शनिबार आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ भने, साउन २१ गते शनिबार नेपाल आदिवासी जनजाति महासंघ, संघीय महिला विभागको आयोजनामा ‘आदिवासी जनजाति महिलाहरूको समानुपातिक समावेशी प्रतिनिधित्व र सीडको सिफारिस नं.३९ आदिवासी महिला र किशोरीको सवालबारे पेन्सन भासना होटल डिल्लीबजारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
यस्तै साउन २२ गते किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले संस्थाको ३६औं स्थापना दिवस तथा १ नं. प्रदेश पुनः नामकरण विषयमा क्रिष्टल पार्टी प्यालेस मानभवन ललितपुरमा बहस कार्यक्रमको आयोजना गरेको छ भने आदिवासी जनजाति अपांग संघले आदिवासी, आदिवासी महिला, आदिवासी अपांगता भएका व्यक्तिहरूको अभियानमा आदिवासी युवाहरूको भूमिका विषयक राष्ट्रिय कार्यशाला गोष्ठी साउन २२ गते पेन्सन भासना होटेल, डिल्लीबजारमा आयोजना गरेको छ ।
त्यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले साउन २३ गते याङ्ग्रीमा होटेल जोरपाटीमा One-day interaction program on Indigenous Youth Back to Their Roots An Interactive Dialogue. विषयक कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै साउन २५ गते आदिवासी जनजाति अपांग महिला संघको आयोजनामा होटेल यल्लो प्यागोडा जमलमा (नेपालका आदिवासी प्रेरणादायी व्यक्तित्वहरूको संघर्ष) विषयक पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा २७ र २८ गते विराटनगरमा प्रदेश नं.१ आन्दोलनको विषयमा बृहत् अन्तरक्रियात्मक बिचार गोष्ठी विचार गोष्ठीको आयोजना गरेको छ भने ईन्डिजिनियस टेलिभिजनले आदिवासी जनजातिहरूको सवालमा एक हप्ते टेलिभिजन बहस कार्यक्रमको आयोजना गरेको छ ।