सूर्योदय नगरपालिकाबाट पत्रकार अधिकारीसहित २८ व्यक्ति र संस्था पुरस्कृत

इलाम : इलामका पत्रकार प्रेम अधिकारीसहित सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने २८ व्यक्ति र संघसंस्था पुरस्कृत र सम्मानित भएका छन् ।

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष ०८०\८१ को बजेट तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा अधिकारीसहित २८ जना पुरस्कृत र सम्मानित भएका हुन् । सोमबार फिक्कलमा आयोजित कार्यक्रममा उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

नगरले साहित्यकार, संगीतकार तथा गायक गणेश रसिक, संगीतकार–गायक कुबेर राई, फिक्कल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा महत, भवानी आधारभूत विद्यालयकी प्रअ रचना राई, रग्बी खेलाडी विशाखा राई, क्रियाशील ज्येष्ठ नागरिक ९४ वर्षे आरबी लिम्बू, उद्यमीद्वय रमिला राई र पूजा राई, सल्लेरी टोल विकास संस्था, करदाता रूपादेवी गुरुङ र संस्थागत विद्यालय नर्वदा कल्याण बोर्डिङलाई पुरस्कृत गरेको छ।

यस्तै, २०७९ सालको एसइई परीक्षामा नगरबाट सर्वोत्कृष्ट नतिजा ल्याउने पञ्चकन्या आवासीय विद्यालयका छात्राद्वय सम्पदा ढकाल र सामना गड्तौला, छात्रतर्फ उत्कृष्ट नतिजा ल्याउने कृष्णाश्रम माविका पवन श्रेष्ठ र उत्कृष्ट शिक्षक ज्ञानोदय माविका सुशील पौडेललगायत व्यक्ति र विभिन्न संघसंस्थालाई पुरस्कृत गरिएको हो।

नगरले चालु आर्थिक वर्षका लागि १ अर्ब २६ करोड रुपैयाँको आयव्यय सार्वजनिक गरेको छ। यो बजेट, नीति र कार्यक्रममा नगरले गाई–गोरुमा देखिएको लम्पी स्किन रोगले पशुधन क्षति भएका किसानलाई राहत र विशेष कार्यक्रम ल्याएको छ।

नगर प्रमुख रणबहादुर राईले लम्पी स्किन रोगले पशुधन नष्ट हुँदा किसानलाई ठूलो नोक्सान भएकाले राहत प्रदान गर्न लागिएको बताए। उनले नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, खेलकुदलगायत क्षेत्रको विकास गरी नगरलाई समृद्धिपथमा अघि बढाउन प्रयास गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार