फिदिम आसपास लगातार सवारी दुर्घटना, एक हप्तामा तीन जनाको ज्यान गयो

  नयाँ बुलन्द
483 Shares

पाँचथर: फिदिम बजार आसपास मेची राजमार्गमा लगातार सवारी दुर्घटना हुँदा एक हप्तामा तीन जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो १२:५० बजे फिदिम नगरपालिका २ नम्बर वडाको कृष्ण मन्दिर छेउमा ट्याक्सी दुर्घटनामा १४ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ । पहिचान नखुलेका मृतकको सनाखत हुन बाँकी रहेको छ ।

झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे१ज १९४१ नम्बरको बोलेरो ट्याक्सी अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसी दुर्घटना भएको हो । घाइते ६ जनालाई थप उपचारको लागि झापा रेफर गरिएको र बाँकीको  पाँचथर अस्पतालमा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते हुनेहरूमा सवारी चालका इलाम दानबारी ८ का २६ वर्षीय अर्जुन बिक, ताप्लेजुङ पाथिभरा याङबरक १ का २३ वर्षीय बुद्धहाङ लिम्बु, ताप्लेजुङ मिक्वाखोला ५ का २६ वर्षीय इसेटिक शेर्पा, पाँचथर हिलिहाङ गाँउपालिका १ का २५ वर्षीय रोसन श्रेष्ठ, हिलिहाङ गाँउपालिका १ का २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा ३ का २४ वर्षका अजय लिम्बु, सिद्धिथुम्की इलामका १४ वर्षकी निरुता सेन्चुरी, पतन्जली गाउँपालिका कालिकोटका २३ वर्षीय सुमन खड्का, फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वर्षीय राम नेम्बाङ, पाँचथर फिदिम नगरपालिका १० की ५ वर्षीय पुस्तिका बिक रहेका छन् ।

 

यसैगरी,मंगलवार नै  १:४५ बजे दिउँसो फिदिम २ ओदिनमा मोटरसाइकल  दुर्घट्नामा परि झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यू भएको हो । अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्वरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो । मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए ।

उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो ।

एक हप्ता अघि मात्रै फिदिम नगरपालिका १ शनिबारे नजिकै अटो दुर्घटनामा परि  एक महिलाको ज्यान गएको थियो ।  फिदिम ६ निवासी ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको  हो । प्र १-०१-००१ स ८७०५ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना भएको र अटोमा सवार अन्य चार जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार