पाँचथरः ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को जिल्ला शाखा कार्यालय पाँचथरमा शनिवार उद्घाटन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा २०७३ सालमा स्थापित संस्थाको शाखा कार्यालय फाल्गुनन्द ५ नम्बर वडास्थित घुर्बिसे पञ्चमीमा स्थापना गरिएको हो ।
कार्यालय स्थापना गर्न फाल्गुनन्द गाउँपालिकाले आर्थिक सहयोग गरेको शाखाका सचिव इन्द्र कुमार नेम्वाङले जानकारी दिए । राजनैतिक,आर्थिक तथा जनजीविका,सामाजिक,पर्यावरण र दिगो विकाश,संस्थागतलगायतका क्षेत्रमा काम गर्ने उदेश्यले संचालन गरिएको प्रतिष्ठानको शाखा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृज हाङ आङ्देम्बेले उद्घाटन गरेका हुन् ।
प्रतिष्ठानले नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउने गरी वैचारिक क्षेत्रमा विभिन्न काम गर्ने गरी ७७ जिल्ला मध्ये हाल ३८ वटा जिल्लामा दर्ता भइ क्रियासिल रहेको र बाँकी जिल्लामा विस्तारको प्रकृयामा रहेको प्रतिष्ठान शाखाका अध्यक्ष शंखध्वज नेम्वाङले बताए । पाँचथरमा यस शाखाको कार्यालय स्थापना हुनु अघिदेखिनै फाल्गुनन्द ७ नम्बर वडामा आयुर्वेद स्वास्थ्य शिविर संचालन गरेको थियो । जहाँ ७२५ जनाले सेवा लिएका थिए । यसैगरी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयको सहयोगमा जिल्ला स्तरीय सचेतना तथा सीपमुलक कार्यक्रम फिदिममा संचालन गरी १०५ जनालाई प्रशिक्षण गराइसकेको जनाइएको छ ।
आगामी दिनमा वाम-लोकतान्त्रिक आन्दोलनको इतिहाँस, समग्र नेपालको इतिहाँस, संस्कृति, नेपाली समाजको विकाशक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्ने प्रतिष्ठानको मुख्य लक्ष्य रहेको अध्यक्ष नेम्वाङले जानकारी गराए । प्रतिष्ठानको जिल्ला स्तरीय कार्यालय हाल फाल्गुनन्दमा स्थापना हुनुले स्थानीयमा खुशी छाएको छ । यस प्रतिष्ठानले आगामी दिनमा मानव समसाधन विकाश ,सामाजिक विकाश ,अनुसन्धान,संस्थागत विकाश,कार्यालय निर्माण र व्यवस्थापन,सामाजिक संजाल र सुचना व्यवस्थापनसासझेदारी,सहकार्य र सञ्जालीकरण साथै श्रोत व्यवस्थापन तर्फ काम गर्ने योजना रहेको उनले बताए । कार्यालय मार्फत कम्प्युटर तालिम र विभिन्न कार्यक्रमहरु संचालन गरिने साथै कार्यालयमा पुस्तक पढ्न पाउने व्यवस्था समेत मिलाइएको छ । पछिल्लो समयमा पुस्तक पढ्ने बानी हराउँदै गएर मोवाईल,कम्प्युटरमा मात्रै लत बसेपछि पुस्तकालयहरु ओझेलमा परेका छन् । पुस्तक अध्ययन गर्ने बानीको बिकाश साथै ज्ञान आर्जन गर्ने थलोको रुपमा लाइब्रेरीले मद्त पुग्ने हुँदा सौजन्य गर्न इच्छुकले पुस्तकालयमा ज्ञानवर्दक पुस्तकहरु उपलब्ध गराउने समेत आग्रह गरिएको छ ।
को हुन् नरबहादुर कर्माचार्य ?
वि.स. १९८१ साल कात्तिक १४ गते बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मिएका स्वर्गीय कर्माचार्य २०७० साल साउन ९ गते ८९ वर्षको उमेरमा देहवसान भएको हो । निरंकुश जहानिय राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन-आन्दोलनका क्रममा २००६ सालमा पुष्पलालको नेतृत्वमा उनीसहित पाँच जनाले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हस्ती मध्येका एक संस्थापक सदस्य हुन् ।
। नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु मध्ये लामो समय सार्वधिक सक्रिय कर्माचार्य पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहे । पछिल्लो समयमा उनी एकीकृत नेकपा माओवादीको संरक्षकको रुपमा थिए ।