लम्पी स्किनले गाई गोठहरु रित्तिदैं

इलाम : इलामको माईजोगमाई गाउँपालिका-६ की कृष्णमाया थेवेले केही वर्ष पहिले एक लाख १० हजारमा पशुपतिनगर बागबिरेबाट एक माउ गाई ल्याएकी थिइन् । गाउँमा दुधबाट राम्रो आम्दानी हुने देखेपछि महँगो रकम तिर्न राजी भएकी थिइन् । गाईले दुई बेत राम्रो दुध दियो । तेस्रो बेतमा थप अन्य दुई माउ लैनो गाई समेत गाउँबाटै किनिन् । तीन माउ लैनो गाई भएसँगै दुधबाट मनग्य आम्दानी हुन थाल्यो । घर खर्चदेखि बाहिरको सबै खर्च दुध बिक्रीबाट सजिलै टरिरहेको थियो ।

तर, दुई हप्ता अगाडि अचानक गाईलाई ‘लम्पी स्किन’ रोग लाग्यो । उपचार गर्दा १० हजार खर्च भयो तर, केही लागेन । तीनमध्ये सबैभन्दा धेरै दुध दिने एक माउ गाई र दुई बाछी समेत मर्यो । अरु दुई माउ गाईलाई समेत ‘लम्पी स्किन’ रोगबाट संक्रमित छ ।

थेवे चिन्तामा छिन् । न अर्को गाई किन्ने रकम नै आफूसँग छ, न त सरकारले न राहत दिन्छ । दुध बेचर घरखर्च चलाइरहेकी थेवेलाई चिन्ताले पिरोल्न थालेको छ । तीन माउ लैनो गाई भएपछि साहुले पनि विश्वास गरेका थिए । कम्तिमा २० लिटर दुध दैनिक डेरी जान्थ्यो । अहिले दुध नभएपछि विश्वास गर्ने आधार पनि टुटेको छ । ‘रोग लागेपछि दुध नै आउँदैन । रोग लागेपछि बचाउन पनि गार्हो हुँदो रहेछ’ उनी बताउँछिन् ।

माईजोगमाई गाउँपालिका-६ कै धिरेन थेबेको ३ महिना अघि ब्याएको दुहुनो गाई पनि लम्पी स्किन संक्रमणबाट एक सातामै मर्यो । सँगै रहेको अर्को दुहुनो गाई पनि संक्रमित छ । कसरी बचाउने उनी रातदिन घरेलु औषधि विधि प्रयोग गरिरहेका छन् ।

यी उदाहरण मात्र हुन्, माईजोगमाई गाउँपालिकामा सबै गाईगोठहरुमा लम्पी स्किन रोग पुगेको छ । प्रत्येकको गाई वा बाछाबाछी मरेका छन्  । कसैको गोठ रित्तिएको छ । उपचार गरे पनि नियन्त्रण हुन सकेको छैन । रोगले महामारीकै रुप लिएकोले पशुपालक किसान चिन्तित भएका छन् ।

अहिलेसम्म माईजोगमाई गाउँपालिकामा एक सय ७७ वटा गाई मरिसकेको माईजोगमाई गाउँपालिका पशु सेवा शाखा प्रमुख सोम देवानले जानकारी दिए । पशु शाखाले एक महिना अगाडी मात्र १२ लाख गाउँपालिकाट बजेट विनियोजन गरी स्थानीय वडाका पशु चिकिसकहरुको टोलि नै बनाएर हरेक वडाहरुको गोठगोठमा गएर रोग लागेको गाईहरुलाई सामान्य रोकथामको औषधि भ्याक्सिन लगाईदिएको देवान बताउँछन् ।

तर गाउँपालिकाबाट प्राप्त भ्याक्सिनले रोगी गाईहरुलाई खासै रोकथाम हुन नसकेको किसानहरु बताउँछन् । किसानको आम्दानीको प्रमुख स्रोत नै अहिले गाउँमा दुध उत्पादन हो । त्यसैले ऋण खोजेर भएपनि दुधालु गाईहरु महँगो मुल्यमा बाहिरबाट ल्याएका छन् ।

महँगो मुल्यमा ल्याएको गाईहरुलाई एक्कासी रोगले मार्न थालेपछि पशुपालक किसानहरु यो पेशाबाटै निरास भएका छन् । रोग फैलिएर गाईहरु मर्न थालेसँगै स्थानीय डेरीहरुमा दुध एकाएक घट्न थालेको छ ।

माईजोगमाइ गाउँपालिकामा मात्र ५० हाराहारीमा डेरीहरु सन्चानमा छन् । दुध घटेसँगै घिउ, छुर्पी पहिले भन्दा ५० प्रतिशतले घटेर इलाम आउन थालेको ६ वर्षदेखि इलाम नारायणस्थानमा घिउ, छुर्पिको व्यापार गर्दै आएको माबुका प्रेम गुरुङ बताउँछन्  ।

स्थानीय सरकारले रोग निवारणतिर तत्काल ध्यान नदिए केही महिनामा ठुलो संकट देखापर्ने गुरुङको अनुमान छ । गाउँघरमा लम्पी स्किन रोगले महामारीकै रुप लिएपछि किसानहरुको बिहान बेलुका गाँस समेत टुट्न सक्छ । प्राय लम्पी स्किन रोगले दुधालु गाईहरुलाई छिटो भेट्ने गर्दछ ।

सुरुमा दूध घट्ने र पछि शरीरको जताततै ठेउला आउने र आफैं पाकेर फुटेपछि किरा पर्ने हुन्छ । जब किरा पर्छ अनि गाईलाई पनि रोगले धेरै च्याप्न थाल्छ । रोग लागेकालाई मात्र दिन मिल्ने खोप छ । पशु चिकित्सकसँग सबैले खोप लगाएपनि खोपको खासै प्रभावकारी नभएको स्थानीयहरु बताउँछ्न् ।

यसरी नै मर्ने हो भने अब एक महिनाभित्र सबै गोठ रित्तो हुने र रोजिरोटीको लागि गाउँ नै छोड्नुपर्ने बाध्यता आउन सक्छ । यतिबेला माईजोगमाई र सन्दकपुर गाउँपालिकामा महामारी कै रुप लिईसकेकोले किसानहरुलाई यो रोगबाट पार लाग्ने खोप र राहत तत्काल आवश्यक छ । सयका लागि सम्बन्धित निकायले चासो दिनु जरुरी रहेको सरोकारवालाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार